इटहरी खानेपानीको निर्वाचन चैत ३ गते हुने , १८वर्षपछि नेतृत्व छाड्दै चौलागाईँ

शुक्रबार, १८ फागुन २०८०
इटहरी - इटहरी खानेपानी उपभोक्ता समितिको निर्वाचन चैत ३ गते हुने भएको छ । शुक्रवार संस्थाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन समितिका संयोजक अर्जुन दाहालले चैत ३ गते मतदानको मिति तोक्दै निर्वाचन तालिका सार्वजनिक गरेका हुन् । गत फागुन १५ गतेदेखि नै निर्वाचनको कार्यक्रम सुरु भइसकेको संयोजक दाहालले बताए । मतदाता नामावली प्रकाशन , नामावली माथि दाबी विरोध र त्यसको छानबिन भइसकेको जानकारी उनले दिए । निर्वाचन कमिटीले फाल्गुन २७ गते उम्मेदवारी मनोनयन दर्ता , २८ गते उम्मेदवारहरू माथि दाबी विरोध , दाबी विरोध माथि छानबिन , उम्मेद्वारहरुको मनोनयन फिर्ता र उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन , चैत ३ गते मतदानको कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि निर्वाचन कमिटीले फागुन १९ गते शनिवार उम्मेदवार मनोनयनको कार्यक्रम सार्वजनिक गरेको भएपनी इटहरीका राजनीतिक दलहरूले मनोनयनको कार्यक्रम सार्न निर्वाचन समितिलाई आग्रह गरेका थिए । राजनीतिक दलहरूको सो आग्रहलाई कारण देखाउँदै निर्वाचन समितिले फागुन १९ गतेको उम्मेदवार मनोनयन गर्ने कार्यक्रम फागुन २७ गते पुर्‍याएको हो । खानेपानी संस्थाको नेतृत्व चयनमा इटहरीका राजनीतिक दलहरूले छलफल गरेर सहमतिमा चयन गर्न सक्ने सङ्केत दिँदै निर्वाचन कार्यक्रम सार्न आग्रह गरेपछि कार्यक्रम सारिएको निर्वाचन समितिका सह-संयोजक चन्द्रप्रसाद भट्टराईले बताए । ९ वर्ष पछि हुन लागेको इटहरी खानेपानीको निर्वाचनमा बाईस  हजार अन्ठानब्बे मतदाताले मतदान गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो । निर्वाचनमा १२ वटा मतदान केन्द्रका २५ वटा बुथमा उपभोक्ताहरूले मतदान गर्नेछन् । इटहरीका मेयर हेमकर्ण पौडेलको संयोजकत्वमा निर्वाचन अनुगमन समिति निर्माण गरिएको जानकारी निर्वाचन समितिले दिएको छ । चैत ३ गते हुन लागेको निर्वाचन ९ वर्षपछि हुन लागेको हो । गत २०७१ सालमा निर्वाचन भएको थियो । प्रत्येक चार वर्षमा हुनुपर्ने निर्वाचन कोरोना महामारी, स्थानीय निर्वाचन लगायतका कारणले रोकिँदै आएको थियो । यो निर्वाचनसँगै खानेपानी इटहरीमा लामो समय नेतृत्व गरेका एमाले नेता रामप्रसाद चौलागाईले नेतृत्व हस्तान्तरण गर्दैछन् । उनले दुई पटकको निर्वाचनमा विजयी भएर इटहरी खानेपानी उपभोक्ता समितिलाई वर्ष नेतृत्व गरेका छन् । सामान्य पूर्वाधार र सीमित धारा जडान गरेर सुरु भएको खानेपानी संस्था अहिले देशमै उपभोक्ताहरूले चलाएको ठुलो र व्यवस्थित संस्था मध्ये पर्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार