प्रहरीका अनुसार घाइते हरि मृतक दीपाका पति (श्रीमान्) हुन् भने घाइते गायत्री मृतक यदुकान्तकी पत्नी (श्रीमती) हुन् । मृतकमध्ये कृष्ण बोलेरो चालक रहेको जानकारी प्रहरीले दिएको छ । यदुकान्त र हरि ज्वाइँ–जेठान हुन् । हरि श्रीमती दीपासहित बहिनी गायत्री र ज्वाइँ यदुकान्तलाई लिएर पाँचथरको आरुबोटोस्थित छोरीको घरमा सम्धी ढोग भेटका लागि जाने क्रममा बिचैमा दुर्घटना भएको यदुकान्तका भाइ यामप्रसाद भट्टराईले बताए ।उनका अनुसार झापाबाट पूर्व–पश्चिम र कोशी लोकमार्ग हुँदै तमोर कोरिडोरको बाटो भएर पाँचथरतर्फ जाने योजनाअनुरूप घरबाट निस्किएका उनीहरू पूर्व–पश्चिम लोक मार्गअन्तर्गत बेलबारीमा अइपुग्नसाथ दुर्घटनामा परेका हुन् । हरि र दीपाकी जेठी छोरीको १ वर्षअघि पाँचथरको आरुबोटेमा बिहे भएको यामप्रसाद बताउँछन् । खनाल दम्पतीका २ छोरी छन् । सामान्य खेती किसानी गर्ने मध्यम आर्थिक अवस्था भएका भट्टराई दम्पतीका ३ छोरी छन् । सबै जना छोरीको बिहे भइसकेको यामप्रसादले बताए । अकल्पनीय दुर्घटनामा आफन्त गुमाएको खबर पाउनेहरू भाव विह्वल भएका छन् । आफन्तको मृत्यु भएको सुनेर कोशी अस्पताल पुगेकाहरू सम्हालिन सकिरहेका छैनन् । डाँको छाडेर रोइरहेको अवस्थामा भेटिए । आफन्त र परिवारका सदस्यको आँखाबाट आँसु थामिन सकिरहेको थिएन । परिवारका सदस्य र आफन्त मात्रै हैन, गाउँ नै शोकमा डुबेको यामप्रसाद बताउँछन् । ‘दुर्घटनामा परिवारका सदस्य र आफन्त गुमाउँदाको पीडाले केही पनि सोच्न सकिरहेको छैन । यहाँभन्दा ठुलो बज्रपात अरू के हुन्छ र ?,’ आँखाभरि आँसु पार्दै यामप्रसाद भन्छन्, ‘दुर्घटनामा परेर दाजुको दुःखद निधन भयो । भाउजू अस्पतालको शैयामा छटपटाइरहनु भएको छ ।’ उनी दाजुसँगै आफन्त गुमाउँदाको अकल्पनीय घटनालाई व्यक्त गर्ने आफूसँग कुनै शब्द नभएको बताउँछन् । दुर्घटनामा परेर बोलेरो जिप पूर्वरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा पनि क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । टिपर चालकसहित बसमा सवार सबै जना सकुशल छन् । दुर्घटनामा परेका सवारीसाधनलाई प्रहरीले जेसीबीको प्रयोग गरेर सडकबाट हटाएको छ । दुर्घटना लगत्तै प्रहरीले टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ । किन बढ्दैछ सवारी दुर्घटना ? के भन्छन् एसपी पौडेल ? कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेल चालकको लापरबाही र बेवास्ताले दुर्घटना बढिरहेको बताउँछन् । चालकले लेन अनुशासन उल्लङ्घन गर्दा अधिकांश दुर्घटना हुने गरेको एसपी पौडेल बताउँछन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख पौडेल सडकमा सवारीसाधन हाँक्दा चालकले धेरै कुरामा सावधानी अपनाउनुपर्ने बताउँछन् । तीव्र गतिमा सवारी चलाउने चालकलाई ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाहीसमेत गर्ने गरिएको उनको भनाइ छ । यद्यपि दुर्घटनामा कमी आउन भने सकेको छैन । पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि जनचेतनामूलक कार्यक्रमलाई तीव्र पार्दै ट्राफिक सक्रियता बढाइएको उनी बताउँछन् । एसपी पौडेलका अनुसार लोकमार्गमा लामो रुटमा चल्ने गाडीले समय व्यवस्थापनमा ख्याल नगर्ने, चालकले तीव्र गतिमा र लापरबाहीपूर्ण तरिकाले चलाउने, जथाभाबी रोकेर यात्रु चढाउने, आफूभन्दा पछाडिको सवारीसाधनलाई उछिन्न नदिने, लेन अनुशासनको बेवास्ता गर्ने, आफ्नो र यात्रुको सुरक्षामा ध्यान नदिने लगायतका कारणले दुर्घटना बढिरहेका छन् । सवारी चालकले ट्राफिक नियम पालना आफ्नो र यात्रुको फाइदा एवं सुरक्षाका लागिका हो भन्ने कुरा नबुझ्दा पनि समस्या भइरहेको उनको भनाइ छ । ‘सम्झाई बुझाइ गर्दा चालकले कुरा बुझेजस्तो गर्छन् । अलि पर पुगेपछि त्यसलाई बिर्सिएर अनियन्त्रित हिसाबले गाडी हाँक्छन्,’ पौडेल भन्छन्, ‘सवारी दुर्घटना रोक्न ट्राफिकसँगै यातायात व्यवसायी एवं सार्वजनिक सवारीसाधनका कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले त आफ्नो हिसाबले काम गरिरहेको छ ।’ उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गर्दै दुर्घटना न्यूनीकरण तथा दुर्घटनाबाट हुने क्षति रोक्न ट्राफिक सक्रियता बढाएर विशेष अभियान चलाइएको उनको भनाइ छ ।
प्रतिक्रिया