झापाको मेचीनगरमा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना घाइते

शुक्रबार, १८ फागुन २०८०
झापा, झापाको मेचीनगरमा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना घाइते भएका छन् । मेचीनगरको गैरीगाँउस्थित सशस्त्र प्रहरी र स्थानीयबीच भएको झडपका क्रममा सशस्त्र प्रहरीले खुकुरी प्रहार भएको स्थानीयले दाबी गरेका छन् । घाइतेहरुलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले झडप भएको पुष्टि गरेका छन् । स्थानीयले सशस्त्र प्रहरी माथि आक्रमण गरेपछि प्रहरीले प्रतिरक्षा गर्दा घटना भएको प्रजिअ बाँस्तोलाको भनाई छ । स्थानीय पोके व्यपारीको सामान खोस्न गएपछि सशस्त्र प्रहरीसंग स्थानीयको झडप भएको थियो । सो क्रममा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको हो । प्रहरीले बरामद गरेको सामान गाडीमा लोड गरेर काँकरभिट्टा ल्याउने क्रममा स्थानीयले ढुङ्गा प्रहार गरेको र ड्राइभरलाई चोट लागेको बताइएको छ । सशस्त्र प्रहरी सत्तीघट्टाका सवारी चालक झडपका क्रममा घाइते छन् । उनको हाल बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहको छ । शसस्त्र प्रहरी बल २ नम्वर गण झापाका प्रमुख कबिन्द्र राईले घटनाका बिषयमा पुरा विवरण आइ नसकेको बताए । स्थानीयका अनुसार शसस्त्र प्रहरीसंगको झडपमा परी दीपा बातर, हरि बातर, बिशेष राजवंशी, मिलन चापागांई, दिपक बातर, आनद यादव घाइते भएका छन् । उनीहरुको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार