पोखरा । गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीचको विवाद उत्कर्षमा रहँदा साउण्ड सिस्टम नै उपलब्धि गराउने चेतावनी दिइएको छ ।
गत आइतबार पर्वतमा आयोजित मगर महोत्सवमा स्टेज पर्फमेन्सका क्रममा साउण्ड सिस्टमको विषयलाई लिएर गायिका चौहान र साउण्ड टेक्निसियनबीच उत्पन्न विवाद सामाजिक सञ्जालमा भाइरल छ ।
सो घटनामा गायिका चौहानले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै पोखराका साउण्ड सिस्टम व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै गायिका चौहानले माफी नमागेसम्म उनी उपस्थित हुने कुनै पनि कार्यक्रम तथा ठाउँमा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्नेमा जिके साउण्ड सिस्टमका संचालक गमबहादुर क्षत्री, एसके साउण्ड लाइट एण्ड म्यूजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिस्टमका मञ्जित जैसवाल, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिसका विनित जोजिजू र एविज साउण्ड सिस्टमका एविज गुरुङ हुन् ।
‘आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउण्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिदाँदिदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाइत्व देखाउनेजस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यसप्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निज एलिना चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म साउण्ड सिस्टम कम्पनी सञ्चालक, साउण्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणाको जानकारी समेत गराउँछौं ।’
यसैबीच, गायिका चौहानले आफू बहिस्कारसम्मको अवस्था आएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेकी छिन् । उनले उक्त दिन नहुनुपर्ने आकस्मिक घटना हुन पुगेको र सो घटनामा तत्कालीन समयमा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकोप्रति आत्मालोचना गर्दछु भनेकी छन् ।
उनले भनेकी छन्, ‘मञ्चीय प्रस्तुतिका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमीकमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु ।
आगामी दिनहरुमा म त्यसप्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु ।’ तर टेक्निसियनले गायिका चौहानको प्रतिष्ठा गिराउने गरी ‘भोकल चेक गरेर आउनोस्’ अभिव्यक्तिको भने नजरअन्दाज गरिएको छ ।
उक्त प्रकरणमा, कुश्मास्थित पुन युवा क्लबले ४२ औं मगर दिवस अवसरमा १५ फागुनदेखि तेस्रो संस्करणको मगर महोत्सव आयोजना गरेको थियो । गायिका चौहान–टेक्निसियनबीच विवाद भने गत २० फागुन राति ८ बजेर ५४ मिनेटको हो । उक्त दिन चौहान अतिथि कलाकारका रुपमा डाकिएकी थिइन् । दिनभरि पानी परेर स्थगित झैं थियो ।
राति कन्सर्ट पनि नगर्ने कि भन्ने तयारी हुँदा यति महत्वपूर्ण कलाकार ल्याएको र दर्शकले पनि हुटिङ गरेपछि चौहान स्टेज चढिन् ।
उनले धोकेवाज हौ तिमी लगायत ३÷४ वटा गीत गाइसकेकी थिइन् । अन्तिम प्रस्तुतिमा वान्स मोर आएपछि फेरि गाउने भइन् । त्यत्तिकैमा उनले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गर्छिन् । जवाफमा ‘पहिले भोकल क्लियर गरेर हामीसँग लेबल माग्नू’ सुन्छिन् । उनी रिसले आगो हुन्छिन् । उनले टेक्निसियनलाई जवाफ फर्काउँछिन्, ‘पहिला तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नू, बुझ्नु भो । आफ्नो गल्ती छ । यहाँ आएर एकचोटि उफ्रेर हेर्नू त । तपाईंले मलाई सिकाउनु पर्दैन, बुझ्नू भो नि ’ नाच्न जान्दैन आँगन टेडो भनेको यही हो । मिलाउन आउँदैन अनि लाज लाग्दैन यस्तो बोल्नलाई ?’ जवाफमा टेक्निसियन फेरि बोलेको सुनिन्छ, ‘तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ सामाजिक सञ्जालमा भाइरल यो भिडियोमा दुवैको भनाभन सुन्न सकिन्छ । दर्शकले चर्को हुटिङ गरिरहेका छन् । उनीहरु टेक्सिसियनमाथि जाइ लाग्न खोज्छन् । कार्यक्रम यत्तिकैमा स्थगित हुन्छ ।
महोत्सवमा साउण्ड सिस्टम उपलब्ध गराउने जिके साउण्ड सिस्टम थियो । त्यहाँ साउण्ड टेक्निसियन थिए, भगवान् थापा । कम्पनीका संचालक गमबहादुर क्षत्रीले भगवान् १२ वर्ष अनुभव हासिल गरेको टेक्निसियन भएकोले कुनै गल्ती नभएको दाबी गरे । उनले भने, ‘त्यसबेला पानी पनि परेको हुँदा समस्या उत्पन्न भएको हुन सक्छ, कलाकारले पनि बुझिदिनुपर्छ ।
दुनियाँ कलाकारलाई भयो, उहाँ (एलिना) लाई मात्र भएन ।’ झापाकी यी गायिका भने दर्शक–श्रोतामाझ लोकप्रिय छन् ।
प्रतिक्रिया