विराटनगर । जिल्ला अदालत मोरङले अदालतका एक जना विवादास्पद अधिकृतलाई जबरजस्ती करणी उद्योग मुद्दामा सफाइ दिने फैसला गरेको छ ।
न्यायाधीश राजेश्वर अर्यालको इजलासले आइतबार अदालतका अधिकृत ४७ वर्षीय नारायण प्याकुरेललाई सफाइ दिने फैसला गरेको हो । फैसलाको पूर्णपाठ तयार भइसकेको छैन । प्याकुरेल उच्च अदालत राजविराज सप्तरीका तत्कालीन अधिकृत हुन् । वीरगन्ज सरुवा भएपनि राजविराज छाड्न नपाउँदै बलात्कार प्रयासको घटनामा उनी पक्राउ परेका थिए ।
त्यसअघि प्याकुरेल विभिन्न अदालतमा कार्यरत थिए । उनी विवादास्पद पृष्ठभूमि भएका कर्मचारी हुन् । तर, पावर र पहुँचका भरमा कारबाहीबाट जोगिँदै आएका छन् । विराटनगरकी २३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको किटानी जाहेरी परेपछि विराटनगर महानगरपालिका–४ घर भएका प्याकुरेललाई प्रहरीले जेठ २४ गते पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो ।
मोरङ अदालतमा उनीविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको थियो । पीडित युवतीलाई यसअघि पनि प्याकुरेलले बलात्कारको प्रयास गरेको अनुसन्धानबाट खुलेको थियो । तर, मोरङ अदालतका तत्कालीन न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले गत असार १२ गते उनलाई धरौटीमा छाड्न आदेश दियो ।
धरौटीवापतको २ लाख रूपैयाँ बुझाएर छुटेका प्याकुरेलले अहिले त्यही मुद्दामा सफाइ पाएका हुन् । करणी उद्योग नठहरिने र प्याकुरेलले सफाइ पाउने फैसला इजलासबाट भएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए ।
प्याकुरेलविरुद्ध त्यतिबेला सरकारी वकिल कार्यालय मोरङले मुद्दा नै नचलाउने निर्णय गर्न खोजेको थियो । तर, चौतर्फी दबाबपछि वकिल कार्यालयले त्यो निर्णय लिन सकेन । मुद्दामा अभियोजन गर्नुपर्ने सरकारी वकिल नै बचाउन खुलेआम लागेपछि प्याकुरेलले अहिले आएर सफाइ पाएका छन् । स्रोतका अनुसार जिल्ला न्यायाधिवक्ताको कार्यालय मोरङका तत्कालीन सहायक जिल्ला न्यायाधिवक्ता रोहितकुमार पोखरेल उनको पक्षमा खुलेर लागेका थिए ।
अनुसन्धानबाट खुलेको तथ्यलाई बंग्याएर सहज हुने हिसाबले मुद्दाको अभियोजन गरिएपछि प्याकुरेलले सफाइ पाउने अवस्था आएको स्रोतको भनाइ छ । त्यसको अगुवाई पोखरेलले गरेको आरोप छ । बिरामी भएको भन्दै प्याकुरेलले प्रहरीमा बस्नुपर्ने हिरासतको अवधि पनि नोबेल शिक्षण अस्पतालमा कटाएका थिए । ‘प्रहरीले प्रमाण जुटाएर मजवुत ढंगले अनुसन्धान गरेको थियो,’ स्रोतले भन्यो, ‘तर, गलत अभियोजनका कारण प्याकुरेलले सफाइ पाउने वातावरण बन्यो ।’
सरकारवादी मुद्दालाई मजवुत बनाउन लाग्नुपर्ने सरकारी वकिल नै बलात्कार प्रयासजस्तो गम्भीर अपराधमा संलग्नलाई जोगाउन खुलेर लागेको वकिल कार्यालयका एक कर्मचारी बताउँछन् । मुद्दाको अभियोजनमा चलखेल गर्ने गरेको भनेर पटकपटक विवादमा पर्दै आएका तत्कालीन सहायक जिल्ला न्यायाधिवक्ता पोखरेलको मोरङबाट उच्च सरकारी वकिलको कार्यालय राजविराजमा सरुवा भइसकेको छ ।
अदालतजस्तो संवेदनशील निकायमा कार्यरत अधिकृत प्याकुरेल विभिन्न घटनालाई लिएर पटकपटक विवादमा परिसकेका छन् । यसअघि पनि मोरङ प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको छ । मादक पदार्थ सेवन गरेर अदालतका कर्मचारीमाथि हातपात एवं महिलामाथि दुव्र्यवहार गरेको, सडकमा खटिएका ट्राफिक प्रहरीलाई कुटपिट गरेको, अदालतको डर देखाएर सर्वसाधारणलाई दुःख दिने गरेको लगायतका विवादमा प्याकुरेल मुछिँदै आएका छन् ।
जिल्ला अदालत सोलुखुम्बु, ओखलढुंगा, सप्तरी, मोरङ र उच्च अदालत विराटनगर, राजविराजलगायतमा कार्यरत रहँदा उनी विभिन्न विवादमा मुछिए पनि कारबाहीबाट भने जोगिँदै आएका छन् ।
जिल्ला अदालत सोलुखुम्बुमा महिला कर्मचारीलाई दुव्र्यवहार गरेको विषयलाई लिएर उनको मुगु सरुवा भएको थियो । जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा कार्यरत रहँदा सडकमा खटिएका ट्राफिक प्रहरीमाथि आक्रमण नै गरे । प्रहरीलाई कुटपिट गरेको विवादमा उनी २ पटक पक्राउसमेत परे । प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो ।
अदालत स्रोतका अनुसार प्याकुरेल जुनसुकै अदालतमा कार्यरत रहँदा पनि विवादमा परिरहन्छन् । अपराधिक घटनामा संलग्न हुँदासमेत पावरका भरमा सहज उन्मुक्ति पाउने गरेका छन् । अदालत स्रोतले भन्यो, ‘बलात्कार प्रयासजस्तो घटनामा सफाइ पाउनुका पछाडि उनलाई बचाउन भूमिका खेलिएको थियोभन्ने बुझिन्छ । बारम्बार विवादमा आइरहँदासमेत सधैँ उनलाई जोगाउने काम हुन्छ । जहाँ कार्यरत रहे पनि कुनै न कुनै हिसाबले विवादमा आइरहन्छन् ।’
बलात्कार प्रयासमा पक्राउ परेका बेला प्याकुरेल उच्च अदालत राजविराजमा कार्यरत थिए । मदिरा सेवन गरेर राजविराज अदालतकै प्रशासन शाखाका अर्का अधिकृत हरिशंकर महतोलाई हातपात गरेको घटनालाई लिएर उनको उच्च अदालत वीरगन्जमा सरुवा भएको थियो । रमाना लिएर वीरगन्ज जान नपाउँदै बलात्कार प्रयासको आरोपमा उनी पक्राउ परे ।
त्यो मुद्दामा मोरङ अदालतबाट धरौटीमा छुटेको केही समयपछि उच्च अदालत वीरगन्जबाट राजस्व न्यायाधिकरण विराटनगरमा प्याकुरेलको सरुवा भएको स्रोतको भनाइ छ । तर, विराटनगर आउन नपाउँदै जिल्ला अदालत रौतहटमा काज सरुवा भएको थियो ।
अहिलेसम्म उनी रौतहटमा हाजिर भएको रेकर्ड छैन ।
रौतहट अदालतका स्रेस्तेदार उद्धव ढोडारीले प्याकुरेल हालसम्म हाजिर हुन नआएको र काज रद्ध भएको जानकारी पनि प्राप्त नभएको बताए । ढोडारीले भने, ‘रौतहट अदालतमा पुस महिनातिर काज भएको भनेर सुनेको हुँ । हाजिर हुनु भएको छैन । काज रद्ध भएको जानकारी पनि छैन ।’
प्रतिक्रिया