क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौता 

सोमबार, २८ फागुन २०८०
विराटनगर । मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुने क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौता भएको छ । विराट क्यान्सर इन्स्टिच्युटमा भर्ना हुने बिरामीले हवाई सेवा निःशुल्क प्रयोग गर्न पाउने सम्झौता अस्पतालले यति एयरलाइन्ससँग गरेको हो । अब यति एयरलाइन्समार्फत यात्रा गर्दा क्यान्सरका बिरामीले टिकटबापतको शुल्क बुझाउनु पर्दैन । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यति एयरलाइन्सले निःशुल्क हवाई टिकट उपलब्ध गराउने छ । निःशुल्क हवाई सेवा प्रदान गर्ने सम्झौता अस्पताल र एयरलाइन्सबिच फागुन १७ गते भएको थियो । सम्झौताका बारेमा सोमबार जानकारी गराइएको हो । क्यान्सरसँग लडिरहेका बिरामीको उपचार यात्रालाई सहज बनाउन सम्झौता गरिएको जानकारी यति एयरका चिफ बिजनेस अफिसर युवराज विष्टले दिए । कोशी प्रदेशमा मात्रै नभई, मुलुकभरका क्यान्सरका बिरामीले सुविधा पाउने उनले बताए । निःशुल्क सेवा प्राप्त गर्न बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्ने सम्झौताको सर्त छ ।  विशेषज्ञ चिकित्सकहरूले कागजातका आधारमा प्रमाणपत्र-परिचयपत्र उपलब्ध गराएपछि उपचारका लागि आउनु पूर्व क्यान्सरका बिरामीले टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिच्यूटका उपाध्यक्ष डा.निकिता कार्कीको भनाइ छ । उनका अनुसार यात्रुले विमानस्थलमा चेक(इन गर्दा यति एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरेको परिचयपत्र पेस गर्नुपर्ने छ । फागुन १७ गते यति एयरलाइन्ससँग सम्झौता पत्रमा हस्ताक्षर भएको डा. कार्कीको भनाइ छ । विराट क्यान्सर इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिको प्रयोग गरी रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमो थेरापी, टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्किजल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टिक म्यामोग्राफी, प्रिभेन्टीभ अंकोलोजी सेवा सञ्चालन हुँदै आएको छ । यसैगरी, प्रिभेन्टिभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषण परामर्श, मनोविदद्वारा परामर्शलगायतका सेवा रहेका सञ्चालनमा छन् । अस्पतालका सञ्चालक एवं प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियादर्शीनी, मेडिकल अंकोलोजिष्ट डा.सुलभ सापकोटा, अंको सर्जन डा.शिवराज शर्मा, डा. नरेन्द्र पण्डित, पेडियाट्रिक अंको सर्जन डा.हिरामणि पाठक, हेड एन्ड नेक अंको सर्जन डा. राहुल महतो, अक्युलर अन्कोलोजिष्ट डा. प्रेरणा अर्याल काफ्ले, क्लिनिकल अंकोलोजिष्टद्वय डा.अस्मिता रायमाझी, डा. विवेक घोष, अंको रेडियोलोजिष्ट डा. मनिष पाठक, डा. भानुप्रताप शाहलगायतका चिकित्सकको समूह क्यान्सरका बिरामीको उपचारमा सक्रिय छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार