उदयपुर दुर्घटनाः मृतक आठैजनाको सनाखत,मृत्यु हुनेमा इटहरीका एक सहित भोजपुरका ७ जना

विहीबार, ०१ चैत्र २०८०
विराटनगर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा बिहान भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु हुने आठैजनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीको इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई छन् । यसैगरी, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी ५ का ४२ वर्षीय किसन राईको सनाखत भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका ९ जनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । धरानबाट भोजपुरका लागि छुटेको बोलेरो दुर्घटना भएको हो । को १ ज २५९३ नम्बरको बोलेरो बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । बोलेरो  मैनामैनीमा सडकबाट तल खसेको थियो । त्यसक्रममा ७ जनाको घटनास्थलमै तथा एकजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका ५ का ३७ वर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका ६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका २ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका १ का १७ वर्षीय सुनील परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार, इटहरी १७ की ३४ वर्षीया गायित्री कट्वाल, उनकै ८ वर्षकी छोरी निकिता कट्वाल र इटहरी १७ कै २९ वर्षीया रमा थापा घाइते भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार