बुढासुब्बा गोल्डकप :काँकडभिट्टालाई हराउँदै एनआरटी उपाधिनजिक

विहीबार, ०१ चैत्र २०८०
धरान । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै न्युरोड टिम (एनआरटी) सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको उपाधिनजिक पुगेको छ । उपाधिका लागि शनिबार एनआरटी र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । धरान रंगशालामा आज भएको अन्तिम सेमिफाइनलमा काँकडभिट्टालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै एनआरटीले एन्फा मोरङसँग फाइनलमा भेट पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । एनआरटीका गोलरक्षक प्रमञ्जय गच्छदारले काँकडभिट्टाका विशाल घलानको प्रहार बचाएका थिए । काँकडभिट्टाका दिवस उराव, विमल घर्तीमगर, अभिषेक गुरुङ र देवेन्द्र तामाङको प्रहार गोलमा परिणत भएको थियो । यसैगरी, एनआरटीका जय गुरुङ, सरोज तामाङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बुले गोल गरेका थिए । निर्धारित समयको ४४औं मिनेटमा फोडेफोफनाले गोल गरेर काँकडभिट्टालाई अग्रता दिलाएको ३ मिनेट बित्न नपाउँदै अतिरिक्त ३ मिनेट थपिएको समयमा एनआरटीका सरोज तामांगले फ्रीकिक मार्फत् गोल गरेर खेललाई बराबरी पुर्याएका थिए । आजको खेलको म्यान अफ दि म्याच एनआरटीका सरोज तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । शनिबार हुने फाइनल खेलको विजेता टोलीले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछ । यस्तै, उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार