स्टाफ नर्सको हत्या प्रकरण - विराटनगर आइपुगे आफन्त- पोस्टमार्टमका लागि पठाउने तयारी

शुक्रबार, ०२ चैत्र २०८०
विराटनगर : विराटनगरमा हत्या गरिएकी स्टाफ नर्सका आफन्त सिराहाबाट विराटनगर आइपुगेका छन् । उनीहरू शुक्रवार साँझ विराटनगर आइपुगेका हुन् । विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या पश्चात् शव भेटिएको कोठामा लगाइएको चाबी खोलेर घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरगंले जनाएको छ । मृतकका आफन्त घटनास्थलमा आएसँगै प्रहरीले पीडित पक्षलाई शव देखाएको छ । कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । शवलाई कोशी अस्पताल लग्ने तयारी रहेको उनले बताए । आफन्त र परिवारका सदस्यलाई देखाएर शव पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको डिएसपी दाहालले बताए । विराटनगर महानगरपालिका- ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रवार मध्यान्न १२ बजेतिर शव फेला परेको थियो । प्रहरीले हत्यामा संलग्नका बारेमा यकिन गरिसकेको छैन । हत्यामा प्रेमी संलग्न रहेको आशङ्का गरिए पनि अनुसन्धानबाट पुष्टि हुन बाँकी छ । प्रहरीका अनुसार नोबेल शिक्षण अस्पतालमा स्टाफ नर्स रहेकी दास नजिकै विराटनगर- ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा  डेरा बस्दै आएकी थिइन् । धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शव घरको कोठाभित्रको शौचालयमा छाडिएको थियो। कोठाको चाबी बाहिरबाटै लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । मृतक पक्ष नआउन्जेल घटनास्थललाई सुरक्षित गर्न प्रहरी परिचालन गरिएको थियो । उनीहरू आइपुगेपछि चाबी खोलेर शव तथा घटनास्थल देखाउँदै प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ । घटनास्थलको प्रकृति हेर्दा हत्या शौचालयभित्रै गरेजस्तो देखिने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । कोठामा हत्या गरेको कुनै प्रमाण फेला नपरेको उनको भनाइ छ । हत्यामा संलग्नले रगत लागेका आफ्ना कपडा खोलेर शौचालयभित्रै छाडेको जानकारी कार्कीले दिए । घाँटीमा चोट रहेको अवस्थामा शव र रगत नलागेको हतियार भेटिएको उनले बताए । प्रेममा  खटपट उत्पन्न भएपछि उनकै प्रेमीले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार