फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा प्रधानाध्यापकले कुटे विद्यार्थी

बुधबार, २१ चैत्र २०८०
झापा - झापाको कमल गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापकले सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । कमल गाउँपालिका वडा नम्बर ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटाले फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रधानाध्यापक मोहन बगालेले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । उक्त भिडियोमा निर्जलाको पिडुँलामा निलडाम देखिन्छ । ‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्ट्याटस थियो । त्यसमा मैले थोरै भएन र ? भनेर कमेन्ट गरेकी थिएँ,’ निर्जलाले भनिन्, ‘त्यतिको आधारमा मंगलबार अफिसमा बोलाएर हेडसरले खानेपानीको नालाले कुटपिट गर्नुभयो ।’ प्रधानाध्यापक बगालेले भने विद्यार्थीलाई कारबाही स्वरूप सामान्य तरिकाले कुटपिट गरेको स्वीकार गरे । विद्यार्थी तथा अभिभावकले प्रहरी कार्यालयमा उजुरी गरेकोले इलाका प्रहरी कार्यालय, दमकमा छलफल गरेर मिल्ने सहमति भएको पनि उनले बताए । सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटनाबारे छलफल भएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए । यसबारे कमल गाउँपालिकाले प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । बुधबार (आज) शिक्षा समितिको बैठकले ५ नम्बर वडाका अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार