बलात्कारमा फसाइदिने भन्दै १० लाख माग्ने महिलालाई ९ महिना कैद सजाय

शुक्रबार, २३ चैत्र २०८०
काठमाडौं । १० लाख पैसा नदिए बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले बुधबार रिना श्रेष्ठलाई ९ महिना कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाइएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले जाहेरवालालाई ३० हजार रूपैयाँ बिगो भराउने पनि फैसला गरेको छ । जाहेरवालाका अनुसार रिनाले बलात्कारको मुद्दामा फसाइदिने भन्दै सुरूमा ३० हजार रूपैयाँ नगद लिएकी थिइन् । त्यसपछि थप १० लाख रूपैयाँ मागेपछि जाहेरवाला प्रहरीकहाँ पुगेका थिए । जाहेरवालाका पक्षबाट बहस गरेका अधिवक्ता विकास गिरीले ‘हनी ट्रयाप’ को मुद्दामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो सजाय भएको बताए । यस्तो थियो घटना ? रिनाका अनुसार १५/२० दिनअघि मात्र ह्वाट्सएपमा चिनजान भएका जाहेरवालासँग उनको गत असार २२ गते एयरपोर्ट अगाडिको रेस्टुरेन्टमा भेट भएको थियो । त्यहाँ ८ वटा वियर खाएपछि आफू बेहोस अवस्थामा पुगेको र ब्यूँझदा आफू नग्न अवस्थामा भएको र जाहेरवाला पनि नग्न अवस्थामा देखिएको अदालतमा बयान दिएकी थिइन् । रिनाले आफू त्यहाँबाट उठेर गएपछि भोलिपल्ट जाहेरवालालाई फोन गर्दा जाहेरवालाले आफूबाट गल्ती भएको र त्यसको क्षतिपूर्ति तिर्न तयार छु भनेर बैंक खाता नम्बर मागेपछि आफूले दिएको बताएकी छिन् । पैसा दिने भनेर बोलाउँदा जाहेरवालाले प्रहरी लगाएर आफूलाई पक्राउ गरेको उनको बयान थियो । काठमाडौं जिल्ला अदालतले रिनालाई पुर्पक्षका लागि ५० हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार