कमल थापा र डिनालाई मात खुवाउदै सांसद बने राप्रपाका दीपक सिंह

विहीबार, ०८ मंसिर २०७९
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धन र एमाले–राप्रपा नेपालको गठबन्धनलाई चकित पार्दै जित हासिल गरेका हुन् । सुवात देखी नै तेस्रो हुदै आएका सिंह अन्तिम समयमा २७ हजार ८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना ले २५ हजार ४३४ मत प्राप्त गरिन् । सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे । लामो समय राप्रपाको नेतृत्व गरेका कमल थापाले केही अघि सो पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए । आफ्नै क्षेत्रमा एमालेसँग थापाको तालमेलका बाबजुद राप्रपाका सिंहले जित हासिल गर्नु असामान्य उपलब्धि मानिएको छ । सिंह गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बनेर पराजित भएका थिए । नेपाल राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका सिंह २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहे पनि डोरमणि पौडेलसँग १ हजार २ सय मतान्तरले पराजित भएका थिए । २०५६ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए । सिंह २०६४ सालको संविधानसभा र ०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार थिए । यद्यपि उनले प्रतिनिधित्व गर्ने अवसर भने पाएनन् । निर्वाचनमा निरन्तर असफल रहँदै आएका सिंह पहिलो पटक संसदीय राजनीतिमा सफल भएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार