सरिता दाहालमकवानपुर । उमेर ५४ वर्ष । नाम सुदर्शन ढकाल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा सडकको आडैमा सुदर्शनको घर छ ।
घरैमा पाली हालेर सञ्चालन गरिरहेका छन् ढकाल मोटरसाइकल वर्कसप । दुवै आँखा नदेख्ने उनी छामेकै भरमा मोटरसाइकल मर्मत गर्छन् । ३८ वर्षदेखि उनी यही ग्यारेजमा रमाइरहेका छन् । यही ग्यारेजबाट चलेको छ, घर संसार ।
छामेकै भरमा उनी सबै मोटरसाइकलको इन्जिन र पार्ट पुर्जा सही र बिग्रेको पत्ता लगाउँछन् । उनी मोटरसाइकल खोल्ने र फिट गर्ने काम पनि गर्छन् । ११ वर्षसम्म आँखैले हेरेर गरेको काम पछिल्लो २७ वर्षदेखि त्यही आदतले छामेकै भरमा गर्छन्, उनी ।
सुदर्शन भन्छन्, ‘केही स्टार्ट गरेपछि आवाजबाट समस्या पत्ता लाग्छ, केही छामेर पत्ता लाग्छ ।’ २०४२ सालदेखि ग्यारेजमा काम गरेका उनलाई २०५३ सालमा आँखाको समस्या देखिएको हो । आँखाको ज्योति गुमाउँदा पनि उनी पछिल्लो २७ वर्षदेखि छामेर र आवाज सुनेरै मोटरसाइकल मर्मतको सबै काम गर्दै आएका छन् ।
जति सानो पार्ट पुर्जा जोड्न पनि उनलाई कसैको सहयोग चाहिँदैन । स्टार्ट भएपछि त्यस आवाजले नै कहाँ के बिग्रिएको छ भन्ने उनी सहजै बुझ्छन् । ‘कुनै साधनचाहिँ स्टार्ट नभएर ल्याएको हुन्छ,’ उनले भने, ‘त्यसलाई स्टार्ट गराएर फलामसँग कुरा गर्छु अनि त्यसको भाषा बुझ्छु ।’ पार्ट पुर्जा फिट गर्न पनि सजिलै लाग्छ उनलाई । उनी भन्छन्, ‘एउटा पार्ट अन्त फिट हुँदैन, छामेरै सही ठाउँमा पुगिन्छ ।’
सबैभन्दा गाह्रोचाहिँ के गर्न हुन्छ रु भन्ने प्रश्नमा उनी भन्छन्, ‘वायरिङको समस्या छ भने चाहिँ तार चिन्न समस्या हुन्छ, छामेर त रातो कालो तार चिनिँदैन, यस्तो बेलामा ग्राहक, श्रीमती वा छोरामध्ये को नजिक छ, उसैलाई सोध्छु ।’ तार जोड्नका लागि तारको रङ बताउनसक्ने बच्चा भए पनि आफूलाई सहयोग पुग्ने बताउँछन् उनी ।
पहिले र अहिले सवारीको पार्ट पुर्जा नयाँ, मोडल नयाँ तर उनलाई केही फरक लाग्दैन मर्मत गर्नमा । नयाँ मोडल भए पनि पेट्रोल इन्जिन नै भएकाले केही फरकफरक सिस्टम भए पनि समस्या नहुने उनी बताउँछन् । सिक्ने बेलामा जापानिज गाडी मर्मत सिकेका उनी अहिले सबै कम्पनीको मर्मतमा पोख्त छन् । १६ वर्षको उमेरमा सीप सिक्दा पनि उनले तालिम लिएका भने होइनन् । उनले भने, ‘क्याटलक हेरेर–पढेर सिकेको हुँ ।’
कसरी गुम्यो आँखाको ज्योति ?
उनको स्कुले पढाइ धेरै उत्कृष्ट थिएन । ९ कक्षामा असफल भएपछि उनी यस क्षेत्रमा आएका हुन् । होन्डा कम्पनीको भाजुरत्नमा कार्यरत उनी सीबीजेड मोटरसाइकल लन्चिङ हुँदा धरान शाखाबाट बिक्रीका लागि हेटौंडाबाट १२ थान मोटरसाइकल धरान लैजाने काममा खटिए उनी । उनलाई अन्य साथीले पनि यस कार्यमा साथ दिएका थिए ।
उनीहरूको टोली हेटौंडाबाट धरान शाखामा जाँदै थियो । कोशीपुलको नजिक पुगेका थिए, सडकको लच्कामा उनीभन्दा अगाडी गुडिरहेको कारले एक्कासि ब्रेक हान्यो । ब्रेकको रातो बत्ति बलेपछि उनले एक्कासि आँखै देखेनन् । सुदर्शन चढेको मोटरसाइकल अनियन्त्रित भयो । मोटरसाइकल चलाउन अनुभवी उनी दुर्घटनामा भने परेनन् ।
बाटोको किनारा लगाएर रोके । तर, आँखाले केही देखेनन् । साथीहरूबीच इटहरीको तरहरा भन्ने ठाउँमा खाजा खाने सल्लाह हेटौंडामा नै भएको थियो । उनलाई उछिनेर अघि बढेका साथीहरू त्यहाँ पुगेर उनलाई पर्खिए । तर, उनी कोशीबाट अघि बढ्नै सकेका थिएनन् । त्यसबेला मोबाइल सञ्चार थिएन । साथीहरू फर्केर खोज्दै आए । उनलाई कोशीको नजिकै भेटे । सडकको सेतो लाइन र कुनै गाडी अघि बढ्दा त्यसले ब्रेक लगाएमा रातो बत्ती मात्रै देख्ने भएछन्, उनी ।
‘अहिले सुन्नेलाई कथाजस्तो लाग्ला,’ सुदर्शन भन्छिन्, ‘हामी साथीहरू मिलेर तरहरासम्म पुग्यौं ।’ त्यसपछि दिउँसो अलिअलि देख्ने राति नदेख्ने भए उनी ।
२०५६ सालमा काठमाडौंको तिलगंगामा आँखाजाँच गराए । नेत्ररोग विशेषज्ञले आँखाको नशा सुकेको र यसको उपचार नहुने बताए । उनले आशा मारेनन् । धामीझाँक्री पनि गरे । तर, समस्या घटेन, बरू बढिरह्यो । फर्केर हेटौंडा आए । २५ वर्षको उमेरमा आँखाको ज्योति गुमाएका उनले आफ्नो सीपको सदुपयोग गर्नका लागि ग्यारेज खोले ।
अहिले पनि उनी राति बालिएको बत्ती देख्छन्, तर अरु देख्दैनन् । कोही मान्छे नजिक आएमा त्यो आकार मान्छेको हो भन्ने सम्म मात्रै चिन्छन् । ९० वर्ष लाग्दै गरेका उनका बुबा बिनाचस्मा पत्रपत्रिका पढ्छन् । तर, उनलाई एक्कासि यस्तो समस्या आयो । ‘आँखामा कुहिरो लागेजस्तो हुन्छ, यो कुहिरो काट्ने औषधि पाए आँखा देख्थें होलाजस्तो लाग्छ,’ उनी भन्छन्, ‘अहिले छामेरै सबै काम गर्छु, कहिले आफ्नै आँगन पिँढीमा ठक्कर खान्छु, तर सम्हालिँदै छामेर सबै काम गर्छु ।’
मान्छेको आशा त कहाँ मर्छ र । आशा अझै बाँकी छ । उनी २ वर्षपहिले उपचारको आशा बटुलेर भारतको बरेलीसम्म पुगे । तर, त्यहाँबाट पनि उपचार भएन । अझै पनि जिल्लामा आँखा शिविर हुँदा न उपचार भइहाल्छ कि भनेर शिविरसम्म धाउँछन् । एक साताअघि पनि आफ्नै वडामा आयोजित आँखा शिविरमा पुगेका थिए, उनी ।
मैले राम्रो पढेर अरू काम गरेको भए कसरी बाँच्थें होला, आँखाको ज्योतिसँगै जागिर जान्थ्यो, म डिप्रेसनमा पुग्थें होला,’ उनी भन्छन्, ‘सीपले बाँच्ने हौसला पाइरहेको छु आजसम्म ।’
श्रीमती पनि मिस्त्री
२०६४ सालमा सुदर्शनकी श्रीमती कमला अर्याल ढकालले पनि घरेलु तथा साना उद्योगबाट मोटरसाइकल मर्मत तालिम सिकिन् । श्रीमान् आँखा नदेख्ने भएपछि सघाउन सहयोग होस् भनेर उनले तालिम सिकेकी थिइन् । तर, अहिले उनी पूर्ण मिस्त्री भएकी छन् ।
‘मैले सिकेपछि छोरो राजीवले पनि सिक्यो,’ कमलाले भनिन्, ‘अहिले हामी परिवार नै मिस्त्री भएका छौं, करेन्ट लाग्ने, काट्ने काम गर्नुपर्दा चाहिँ उहाँ (श्रीमान्ला)ई एक्लै छाड्दैनौं, अरू काम उहाँ आफैंले सबै गर्नुहुन्छ ।’
आफूहरू तीनै जना मोटरसाइकल मर्मतको सबै काममा पोख्त भएको कमलाको दाबी थियो । कमला भन्छिन्, ‘चलाउनचाहिँ म जान्दिनँ, यही ’चयगलम चलाएर हेर्नुपरे श्रीमान्ले पनि हेर्नुहुन्छ, बाटो ९राजमार्ग०मा ट्रायल गर्नुपरे छोराले गर्छ ।’
मर्मत गर्न र चलाउन दुवै सिक्ने मन भए पनि त्यसबेला मर्मत मात्रै सिक्न पाएको उनले बताइन् । मोटरसाइकल चलाउन नजाने पनि यसको कुन पार्ट पुर्जामा के खराबी आएको छ, सबै ज्ञान छ, कमलालाई ।
छोरा राजीव घरमा कमै हुन्छन् । सुदर्शन र कमला ग्यारेजमा हुँदा कमला प्रशासनिक काम हेर्छिन् । सुदर्शन मर्मतको पाटो सम्हाल्छन् । मर्मतपछि शुल्क लिने, आवश्यक पार्ट पुर्जा किन्नका लागि लिस्ट तयार गर्ने, सामान किन्न बजार जाने काम कमला सम्हाल्छिन् ।
कहिलेकाहीँ कामको चाप हुँदा दुवै जना मर्मतमा भिड्छन् । कमलाले आफू नहुँदा कतिपयले श्रीमान्लाई मर्मत शुल्क नै नदिई हिँड्ने गरेको पीडा सुनाइन् । ‘छोराको यहाँ (ग्यारेज) र अर्को काममा बराबरजस्तो लाग्छ, हामी दुईको पुरै समय यही काम हो,’ कमलाले भनिन् ।
कर्मकाण्ड पढेका राजीव ग्यारेजमा व्यस्त
सुदर्शन–कमलाका दुई सन्तान छन् । एक छोरा एक छोरी । विवाहित छोरी हेटौंडा बजारमा फेन्सी पसल चलाउँछिन् । छोरा राजीवको सानैदेखि रुचिको क्षेत्र थियो कर्मकाण्ड । उनीहरूले छोरालाई संस्कृत पढाए । किशोरावस्थामा नै उनी गाउँ छिमेकमा कर्मकाण्ड काममा लागे । अहिले पनि उनी पूजापाठ, तिथि श्राद्ध, सप्ताह ज्ञान महायज्ञको कामले प्रायः व्यस्त नै हुन्छन् ।
जब यी कामबाट फुर्सद मिल्छ, राजीव पनि आमाबुबालाई सघाउन ग्यारेमा आइपुग्छन् । आफू हुर्कंदै गर्दा आमाबुबाले यही काम गरेको देखे राजीवले । ‘बा–आमालाई सानोतिनो काममा सघाउँदासघाउँदै सबै सीप जानें,’ राजीवले भने, ‘अहिले यो काम पनि धेरै रुचि लाग्छ ।’
महेश गुरुकुल देवघाटमा संस्कृत अध्ययन गरेका राजीवले हेटौंडा फर्केर पुनः मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकाय अध्ययन गरे । संस्कृतमा शिक्षा हासिल गर्ने क्रममा चितवन देवघाट बसेका राजीवले घर, फर्केपछि ग्यारेजमा काम नगर्ला भन्ने लागेको थियो । तर त्यसो भएन ।
‘सेतो पोसाक लगाएर सफा आशनमा बसेर, धूपको बास्ना चलाउँदै काम गर्ने पण्डित हो छोरो, तर मेरो यो कालो मोबिल र गन्हाउने मट्टितेलमा लतपतिएर ग्यारेजको काममा के गर्ला र भन्ने लागेको थियो,’ सुदर्शन भन्छन्, ‘सुरुसुरुमा त फोहोर मानेजस्तो पनि ग¥यो, तर सजिलै यसमा पनि रत्तियो ।’
सीप कहिल्यै पनि ठूलो र सानो भन्ने नहुने सुदर्शनको बुझाइ छ । ‘मैले यो सीप नजानेको भए अहिले आँखा नदेख्दा तनावकै कारण मर्थें होला,’ सुदर्शनले गुनासो पोखे । उनीहरू अहिले मासिक कम्तीमा ५० हजार रुपैयाँ बचत गर्छन् ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया