‘टिचिङ’ को १५ सय शय्याको अस्पताल बनाउन छुट्याइएको जग्गामा सुमो पार्क

आइतबार, ०९ बैशाख २०८१
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सेवा विस्तार गर्न बल्खुमा अतिविशिष्ट सेवा अस्पताल बनाउने तयारी छ । २८९ रोपनीको यो क्षेत्रभित्र ३ रोपनीमा अनधिकृत रूपमा टाटा सुमो पार्क चलिरहेकाले प्रस्तावित अस्पतालको पर्खाल लगाउनसमेत अवरोध भएको छ । जिल्ला र उच्च अदालतको आदेशपछि पनि जग्गा खाली गराउन प्रहरीले असहयोग गरेको छ । १५ सय शय्याको अस्पताल बनाउन त्रिभुवन विश्वविद्यालयले १२ रोपनी जग्गा त्रिवि शिक्षण अस्पताल (टिचिङ) लाई दिएको हो । त्यसमध्ये ३ रोपनी जग्गा त्रिवि प्राध्यापक संघले भोगचलन गर्दै आएको थियो । यो जग्गामा आफ्नो कार्यालय, पुस्तकालय वा अन्य कुनै अनुसन्धान केन्द्र बनाउनुको सट्टा प्राध्यापक संघले पार्किङ बनाउन भाडामा लगाएको थियो । संघका अध्यक्ष बसन्त ढकालले ०७७ भदौमा मासिक २ लाख १० हजारमा जग्गा मोहन बस्नेतलाई दिएका थिए, मोहनले भतिजी प्रशंसाको नामबाट सम्झौता गरेका थिए । प्राध्यापक संघलाई कार्यालय चलाउन दिएको जग्गा व्यापारिक समूहलाई भाडामा दिएको भन्दै आलोचना भएपछि त्रिवि कार्यकारी परिषद्ले सम्झौता रद्द गर्न निर्देशन पनि दिएको थियो ।  ०७७ पुस २९ मा संघले सम्झौता रद्द गरेको थियो । त्यस अघिसम्मको भाडाबापत बस्नेतले संघलाई १४ लाख रुपैयाँ बुझाए पनि त्यसपछि भाडा दिएका छैनन् । तर, पार्किङ अहिले पनि चलाइरहेका छन् । प्राध्यापक संघले सम्झौता रद्द गरेपछि बस्नेत पक्ष अदालत गएको थियो । जिल्ला अदालतले सम्झौता रद्द गर्दै जग्गा खाली गराउन आदेश दिएको थियो । अदालतले त्रिविको स्वामित्वमा रहेको जग्गा प्राध्यापक संघले भाडामा दिन नमिल्ने ठहर गरेको थियो । जिल्लाको आदेशविरुद्ध बस्नेत समूह उच्च अदालत गएको थियो तर उच्चले पनि ०७९ कात्तिक २३ मा जिल्लाकै आदेश सदर हुने फैसला सुनाएको थियो । तर जग्गा पनि खाली नगरेको र भाडाबापतको १ करोड २६ लाख रुपैयाँसमेत बस्नेतले भुक्तानी नगरेको त्रिवि रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाका प्रमुख राजुकुमार श्रेष्ठको भनाइ छ । महाशाखाले गत मंसिर ५ मा जग्गा खाली गराइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएको थियो । प्रशासनले मंसिर ७ मा काठमाडौं प्रहरीलाई जग्गा खाली गराउन निर्देशन दिएको थियो ।  काठमाडौं प्रहरी परिसरले निर्देशन कार्यान्वयन गर्न प्रहरी वृत्त कालीमाटीलाई भनेको थियो । तर कालीमाटी प्रहरीको असहयोगका कारण जग्गा फिर्ता लिन नसकिएको गुनासो श्रेष्ठले गरे । ‘हामी जग्गा खाली गर्न जाँदा ०७९ चैत ७ मा मान्छे लगाएर लखेटियो । प्रहरीले सहयोग गर्दैन । हटाउने त तपाईंहरूले नै हो भन्दै प्रहरी पन्छिएको छ,’ उनले भने, ‘विश्वविद्यालयको जग्गा गैरकानुनी रूपमा भोगचलन गर्दा पनि टुलुटुल हेर्दै बस्नुपरेको छ ।’ त्रिविले जग्गा खाली गर्न सार्वजनिक सूचना प्रकाशन गर्नुका साथै काठमाडौं–१० की प्रशंसा बस्नेतको नाममा पटकरपटक पत्राचार गरेको छ । महाशाखाले ०८० भदौ ७ मा जग्गा खाली गराई सहयोग गरिदिन काठमाडौं–१४ को कार्यालयलाई समेत पत्राचार गरेको थियो । तर प्रहरीबाट सहयोग पाएको छैन । काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले त्रिविको जग्गा फिर्ता ल्याउन विगतदेखि प्रयास गरे पनि केही कानुनी जटिलता देखिएकाले सफल हुन नसकेको बताए । ‘पछिल्लो अपडेट लिएर खाली गराउँछौं,’ उनले भने । अस्पताल बनाउनुपर्ने ठाउँमा कब्जामा लिएर बस्नेतको समूहले बल्खु–हेटौंडा चल्ने सुमोको पार्किङस्थल बनाएको हो । ‘छाड्छु भनेर केही टहराहरू त भत्काएको पनि छ तर मौखिक रूपमा तत्काल छाड्न सक्दिनँ पनि भनेको छ,’ महाशाखा प्रमुख श्रेष्ठले भने, ‘पार्किङ नहट्दा प्रस्तावित अस्पताल निर्माण अघि बढ्न सकेको छैन ।’ पार्किङ चलाउँदा जनप्रशासन क्याम्पसको जगमा समेत क्षति पुर्‍याएको उनले बताए । अस्पताल क्षेत्रको कम्पाउन्डवाल बनाउन ५ करोड लागतमा काम सुरु भए पनि पार्किङले अवरोध भइरहेको रजिस्ट्रार कार्यालयले जनाएको छ । रजिस्ट्रार केदार रिजालले बल्खुको सुमो पार्किङलगायत कब्जा गरिएको जग्गाजमिन कसरी फिर्ता लिन सकिन्छ भन्नेबारे आफूहरू गम्भीर रहेको बताए । यही शैलीमा त्रिविको १ हजारभन्दा बढी रोपनी जग्गा विभिन्न व्यक्ति, समूह र संस्थाले हडपेर भोगचलन गर्दै आएको तथ्यांक छ । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार