इटहरीका नगरकोटी सहित दुई जना लागूऔषधसहित विराटनगरबाट पक्राउ

सोमबार, १० बैशाख २०८१
विराटनगर । विराटनगरका अलगअलग स्थानबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट मोरङको कानेपोखरी गाउँपालिका–५ का ३१ वर्षीय आकाश धिमाल पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) लिएर पैदल नै नेपालतर्फ फर्कदै गरेको अवस्थामा उनलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा धिमालको साथबाट ३.४४ ग्राम ब्राउन सुगर बरामद भएको थियो । उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले सोमबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । त्यस्तै, विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट एक जना पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ४८ वर्षीय सुवास नगरकोटी लागूऔषधसहित पक्राउ परेका हुन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो । भारतको जोगवनीबाट लागूऔषध खरिद गरेर साइकलमा नेपालतर्फ फर्कदै गरेको अवस्थामा नगरकोटीलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट १ सय ६५ चक्की नाइट्राभेट र ८० चक्की स्पासमोप्रोक्सिभन प्लस बरामद भएको छ । उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार