इटहरीमा सञ्चालित दुई वटा सहकारीका सञ्चालक फरार, सयौँ बचतकर्ताले दिए उजुरी

शुक्रबार, २८ बैशाख २०८१
इटहरी । सुनसरी इटहरीमा सञ्चालित दुई वटा सहकारी अध्यक्षसहितका पदाधिकारीहरू बचतकर्ताहरूको लाखौँ रुपैयाँ ठगेर फरार भएका छन् । इटहरीको मुख्य चोकमा रहेको हलेसी बचत तथा ऋण सहकारीकी अध्यक्षसहित पदाधिकारीहरू फरार भएको बचतकर्ताहरूले बताएका छन् । बचतकर्ताहरूको झन्डै ६० लाख बढी पैसा फिर्ता गर्न नसकेपछि अध्यक्ष मनिता श्रेष्ठ, उपाध्यक्ष रोबिनकुमार राई, केशव खडका फरार भएका हुन । त्यस्तै इटहरीमै कार्यालय भएको कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मीन बहादुर तामाङ पनि फरार भएको बचतकर्ताहरूले जानकारी दिए । इटहरी उपमहानगरपालिकामा आएर पटक पटक ऋण तिर्ने सहमति गरेको भएपनि पछिल्लो समय तामाङ  फरार भएको जनाइएको छ । सहकारी सञ्चालकहरू फरार भएपछि इटहरी उपमहानगरपालिकाको सहकारी शाखामा  पीडितहरूले उजुरी दिएका छन् । शाखाका अनुसार एक सय बढी सहकारी पीडितको उजुरी परेको छ । पीडितहरूको समेत उजुरी आएपछि सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन परेपछि प्रहरीले उनीहरूको खोजी सुरु भएको हो । तर कलश बचतको कार्यालय इटहरीमा रहेको भनिए पनि कार्यालय कहाँ छ भन्ने समेत थाहा नभएको इटहरी उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले बताए । केही दिनअघि मात्रै बचतकर्ताहरूको एक करोड पचास लाख अपचलन गरेर फरार भएका खनार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इटहरी ४ निवासी सुदिप तामाङ, उपाध्यक्ष सरोज सिवाकोटी ,इटहरी १३ बस्ने संस्थाका सदस्य गोविन्दकुमार श्रेष्ठ र सप्तरी घर भएका संस्थाका व्यवस्थापक धर्मेन्द्र दासलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार