बञ्चरो प्रहार गरी दाङमा दुई महिलाको हत्या

शनिबार, २९ बैशाख २०८१
दाङ । दाङको घोराहीमा आज (शनिबार) दिउँसो दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । बञ्चरो, कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको जानकारी दिंदै उनले भने, ‘हत्यामा संलग्न एक व्यक्तिलाई हाम्रो नियन्त्रणमा लिएका छौं ।’ दुई महिला कोठा भाडा बस्दै आएका थिए । घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको पाइएको केसीले जानकारी दिएका छन् । हत्या गरिएकाहरूमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेको एसपी केसीले बताएका छन् । सुनारको पहिलोको घर सुर्खेत र बुढाको पहिलेको घर रूकुम रहेको खुलेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुई जना महिलाको हत्या गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ परेका छन् । उनी अटो चालक हुन् । प्रहरीका अनुसार उनी पछिल्लो समय घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएका थिए । दुई महिलाको हत्याको कारण खुलिनसकेको र घटना अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार