दमक :अस्पतालको लापरवाहीले गर्दा विरामीको मृत्यु भएको भन्दै आफन्तले दमकको लाइफलाइन अस्पतालमा विवाद उत्पन्न भएको छ ।
पाँचथर तुम्वेवा गाउँपालिका ५ बस्ने चन्द्रकुमार कुरुम्वाङकी श्रीमती ४६ वर्षीया सुनिताकुमारी कुरुम्वाङ लिम्बूको आज बिहान ५.५५ बजे मृत्यु भएपछि आफन्तले विवाद गरेका हुन् ।
शनिबार बेलुकादेखिनै विरामीका आफन्तहरुले विवाद गरेका थिए । बेलुका ९ बजे विरामीका आफन्तले न्युरो अस्पताल विराटनगरवाट बिरामीलाई लाइफलाइन अस्पताल फिर्ता ल्याएका थिए ।
१५–२० जना विरामीका आफन्त भेला भई लाइफलाइन अस्पतालले लापरबाही तरिकाले उपचार गरेको र बिरामीको अवस्था नाजुक रहेको भन्दै जवरजस्ती आइसियुमा बिरामी राखिदिएका थिए ।
गत बैशाख १२ गते सुनितालाई लिभरको समस्या भएपछि उपचारको लागि लाइफलाईन अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारपश्चात् बैशाख २५ गते डिस्चार्ज भई उनलाई घरतर्फ लगिएकोमा पुनः फलोअपको लागि जेठ १ गते सोही अस्पताल ल्याएकोमा उनको अवस्था पहिलाको भन्दा खराब भएका कारण लाइफलाइनले बिराटनगरको न्युरो अस्पताल रेफर गरेको थियो ।
उक्त अस्पतालमा लगेर उपचार गराउँदा विरामीको पूर्ण रुपमा उपचार हुन गाह्रो रहेको भनी डाक्टरले सल्लाह दिएपछि विरामीका आफन्तले न्युरो अस्पतालबाट बिरामीलाई लाइफलाइन अस्पताल ल्याएका थिए ।
शनिबार साँझ विवाद भएपछि बाक्लो सुरक्षाकर्मी खटाइएको थियो । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल बेस क्याम पाडाजुँगीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ११ जना टोली खटाइएको थियो ।
विवाद समाधान गर्न आज दिउँसो २.३० बजेबाट अस्पताल प्रशासन, पीडित पक्ष र जनप्रतिनिधिबीच छलफल भएको थियो । तर, छलफलबाट कुनै पनि सहमति जुट्न सकेन ।
आक्रोशित आफन्तहरुले मृतकको शव नउठाएको र आइसियुको गेटमा धर्ना दिइरहेको दमक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया