मणिराम दाहालसुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा स्थित झरना यूवा क्लबको आयोजनामा बिराटचोक महोत्सव तथा फुड फेस्टिवल २०७९ सामुदायिक विद्यालयमा पढ्ने गरिब साथै जेहेन्दार बिद्यार्थीलाई सहयोग जुटाउँन सञ्चालन भएको छ ।
आगामी फागुन २१ गते सम्म आयोजना हुने कृषि , पर्यटन र ब्यापार मेलाको उदघाटन नगर उपप्रमुख अकली चौधरीले गरेकी थिइन । उनले व्यापार व्यवसायमा मन्दि देखिएको अवस्थामा युवाहरूको एकतामा महोत्सवको आयोजना भएर आर्थिक पक्षलाई चलायमान बनाउँने प्रयत्न गर्नु सकारात्मक पक्ष भएको उल्लेख गरिन । मेलाको लागि सफलताको शुभकामना प्रकट गर्दै स्थानीय क्षेत्रमा सञ्चालन भएको महोत्सवलाइ सफल बनाउँन सबैको साथ सहयोगको खाँचो भएको उनले बताइन् ।
महोत्सवको उदघाटन समारोहमा सुन्दरहरैँचा नगरपालिका वडा न। ९ का वडाअध्यक्ष प्रकाश श्रेष्ठ , नगर प्रवक्ता रोशनप्रसाद ढकाल ,नेपाली काँग्रेसका जिल्ला सचिव ललितबहादुर श्रेष्ठ , नेकपा माओवादी प्रदेश कमिटी सदस्य नवराज चापागाईं लगायतले शुभकामना मतव्य व्यक्त गरेका थिए । अधिकाश बक्ताहरूले स्थानीय सरकार साथै प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रूपमा विकास गरेर आफ्नो ठाउँको पहिचान उच्च राख्न मेला सञ्चालन गर्नु महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरे ।
युवा उद्यमशीलता, देशको आवश्यकता भन्ने नारा सहित भएको बिराटचोक महोत्सव सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग जुटाउँने लक्ष्य अनुरूप सञ्चालन भएको मेलाका संयोजक भविन पाण्डेले जानकारी दिए । ञञमहोत्सवमा व्यापार व्यवसायलाई अभिबृद्वि गर्नका लागि ५० वटा स्टलहरू राखिएको छ उनले भने ,महोत्सवका लागि करिव १ करोड ६० लाख खर्च हुने तथा आम्दानी भएको रकमले शिक्षाक्षेत्र तथा महत्त्वपूर्ण समाजिक काममा खर्च गरिने छ।
महोत्सवको उदेश्य ग्रामिण बजारको विस्तारसँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको पर्वद्धन गर्ने ,लोप हुन लागेका लोककला संस्कृति साहित्यको जगेर्ना गर्ने , नगर भित्र रहेका पर्यटकिय क्षेत्रहरूको प्रचार(प्रसार गरी धार्मिक स्थलहरूको संरक्षण गर्ने रहेको छ । विभिन्न जातजातिका साँस्कृतिक सामाजिक तथा धार्मिक सदभाव अभिवृद्धि गरि स्थानिय व्यवसायलाइ प्रबर्द्धन गर्दै युवा उद्यमशिलतालाई प्रोत्साहन गर्नका लागि मेल सञ्चालन गरिएको आयोजक क्लबका अध्यक्ष प्रल्हाद पाठकले बताए ।
दैनिक उपभोग्य वस्तु तथा सेवाहरू, जडिबुटि कृषि उत्पादन साथै कृषि प्रदर्शनी महोत्सवमा समावेश गरिएको छ । साथै इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स,अटोमोबायल ,लुब्रिकेन्समोबाइल तथा सूचना प्रविधि समावेश छ । साना तथा घरेलु उत्पादन , हस्तकलाका सामग्रीहरू, गार्मेन्टस र फुटवेयर फलफूल साथै पुष्प प्रदर्शनी रहेको छ । जातिय पहिचानका सामग्रीहरू,साना तथा घरेलु उत्पादन अल्लोबाट उत्पादीत कपडाहरू, बाँसको हस्तकला, ढाकाका कपडाहरू रहेको आयोजकले बताएको छ ।
महोत्सवमा मनोज गजुरेल तथा प्रविसा अधिकारीको प्रस्तुतिका साथै प्रमोद खरेल कमल खत्री, एलिना चौहान, मेलिना राई, प्रकाश सपुतंप्रिति आने, सुवानी मोक्तान, मन्त्रव्यान्ड, नविन के भट्टराई ,लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरू मनोरञ्जन प्रदानका लागि सहभागी रहने आयोजकले उल्लेख गरेको छ । महोत्सवलाई भव्यसभ्य बनाउँन जोड दिएर सुरक्षाको व्यवस्थाका लागि सुरक्षाकर्मीका साथै युवा परिचालन गरिएको तथा आर्थिकपक्ष बलियो बनाउँन टिकटबिक्री गरि सहयोगका लागि व्यापारिक प्रतिष्ठान र स्थानीय सरकारसँग सहकार्य भएको मेलाका आर्थिक व्यवस्थापक युवेन गुरूङले बताए ।
मेलाका विशेष आर्कषणहरू
मनोरञ्जनात्मक खेल, स्थानीय तथा राष्ट्रिय कलाकारहरूका साथमा दैनिक सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहेको छ । मेलामा विभिन्न साहित्यिक तथा नाट्य समुहबाट नाटक तथा साहित्यिक मनोरञ्जन दिवा र रात्रीकालिन सत्रमा छुटाछुटै कार्यक्रमहरू फेसन शो तथा विभिन्न प्रतिभाहरूको प्रदर्शन हुने आयोजक क्लबका सचिव नगेन्द्रबहादुर भुजेलले जानकारी दिए । मेलाको औपचारिक उदघाटन समारोहको सञ्चालन अर्जुन गजुरेलले गरेका थिए ।
प्रतिक्रिया