जोगवनीबाट टेम्पोमा राखेर लागूऔषध ल्याउने तीन जना पक्राउ

बुधबार, १६ जेठ २०८१
विराटनगर । भारतको जोगवनीमा खरिद गरेको लागूऔषध टेम्पोमा लिएर आउने तीन जना विराटनगरबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले टेम्पो नियन्त्रणमा लिएर चालक विराटनगर–६ का १९ वर्षीय छोटु सहनी, टेम्पोमा सवार विराटनगर–९ का ३० वर्षीय सञ्जय साह र विराटनगर–१६ का ३० वर्षीय पशुपति केवटलाई पक्राउ गरेको हो । उनीहरुले भारतको जोगवनीमा खरिद गरी को २ ह ८३९० नम्बरको टेम्पोमा राखेर लागूऔषध नेपाल ल्याएको प्रहरीले जनाएको छ । शंका लागेपछि उक्त टेम्पोलाई मंगलबार दिउँसो ३ः३० बजेतिर प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित खाकी बाब मन्दिरअगाडि नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । त्यस क्रममा टेम्पोको पछाडि सिटमुनि लुकाएर राखिएको लागूऔषध नाइट्राभेट १ सय ७० ट्याब्लेट र प्यारोनिक्स स्पास १ सय २८ ट्याब्लेट बरामद भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए । उनका अनुसार टेम्पो चालक छोटुको साथबाट १२ हजार नेपाली रूपैयाँसमेत बरामद भएको छ । पक्राउ परेकाहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । पक्राउ परेकाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार