काठमाडौं / वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत गृहबाट उत्पादन बढ्न थालेपछि दैनिक चार सय मेगावाट विद्युत भारत निर्यात सुरु भएको छ ।
विद्युत प्राधिकरणले देशभित्र खपत भई अतिरिक्त भएको विद्युत गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४ सय मेगावाट हाराहारीमा विद्युत निर्यात भइरहेको बताए ।
खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रको स्वामित्वमा रहेका जलविद्युत आयोजनाको विद्युत उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत निर्यात सुरु गरिएको हो ।
‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढ्दै गइरहेकाले विद्युत उत्पादन पनि बृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ ।
७-८ वर्षअघि दैनिक रुपमा विद्युत खपत एक÷डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४÷साढे ४करोड युनिट पुगेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार दुई सय मेगावाट विद्युत प्रतिष्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ ।
निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौं ।’
द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४ सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाएकोे घिसिङले जानकारी दिए ।
विद्युत प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत प्रतिष्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ ।
६५६ मेगावाटबाटै मध्यकालीन विद्युत सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत एनभिभिएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ ।
एनभिभिएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ ।
नेपालले विद्युत रियल टाइम मार्केटमा विद्युत खरिदबिक्रीको पनि अनुमति पाएको छ ।
६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्तिको केही समस्या रहेको उल्लेख गरे ।
पिलुवा–परपानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटिएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ ।
एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युतबाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगहरुमा विद्युत आपूर्तिको केही समस्या छ, कन्डक्टर बदल्ने काम २-३ दिनमा सकिने छ, त्यसपछि हालको समस्या समाधान हुनेछ ।
दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब २ सय मेगावाट विद्युत प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर १३२ केभी प्रसारण लाइनका क्षमता डबल हुने छ । परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत निर्यात हुनेछ ।
प्राधिकरणले यो वर्षको हिउँदयाममा देशभित्रको विद्युत माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत भारतबाट आयात गरेको छ ।
सुख्खायाम सुरु भएसँगै खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरुबाट विद्युत उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत आयात गरिएको हो । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत आयात गरिएको छ ।
प्राधिकरणले गत वर्षको जेठदेखि यस वर्षको हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ ।
चालु आर्थिक वर्ष २०८०–८१ को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत निर्यात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत आयात गरेको हो ।
यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत निर्यात गरिएको हो ।
आयात गरिएको विद्युतको मूल्य निर्यात गरिएको भन्दा सस्तो छ । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा छ ।
कार्यकारी निर्देशक घिसिङले जेठको बाँकी समय र असार महिनामा निर्यात हुने विद्युत परिणामबाट चालू आर्थिक वर्षमा आयातभन्दा निर्यात बढी हुने अवस्था देखिएको बताए ।
‘६-७ वर्षअघिसम्म विद्युत आयातकर्ताको मात्र अवस्था थियो, २-३ वर्षअघिबाट विद्युतको निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो भने अब यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘चालु आवमा निर्यातभन्दा आयात १ अर्ब ७४ करोड रुपैयाँले बढी देखिएको छ, आवको बाँकी अवधिमा निर्यात हुने विद्युतको परिणामले यो खाडललाई पूरा गरी खुद निर्यातकर्ताका रुपमा रहने छौं ।’
प्रतिक्रिया