धरान । फागुन ११ गतेदेखि सुरु हुने धरान एक्स्पो २०७९ मा सुनसरीका रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइने भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट दश दिनसम्म धरान रङ्गशालामा हुन लागेको एक्स्पोमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने एक्सपो संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । औद्योगिक, व्यापारिक, कृषि, पर्यटन, खेलकुद र साहित्यीक क्षेत्रलाई केन्द्रमा राखेर आयोजना हुन लागेको प्रदर्शनीमा मह, माछा, सुकुटी, अचार, चिया, फूल, धराने कालो बङ्गुर जस्ता सुनसरीका अग्र्यानिक उत्पादनलाई विशेष स्थान दिइने एक्स्पोका स्टल संयोजक विष्णु बरालले जानकारी दिए ।
एक्सपोमा अग्र्यानिक उत्पादनबाहेक प्याराग्लाइडिङ, तमोर–चतरा र्याफ्टिङ लगायत साहसिक खेल र पर्यटन क्षेत्र पनि आकर्षक रहने जनाइएको छ । एक्स्पो घुम्न आउने अवलोकनकर्ता, व्यवसायी र उद्यमीलाई होटलमा विशेष प्याकेज उपलब्ध गराइने स्टल संयोजक बरालले बताए ।
एक्स्पोमा सहभागि हुने महिला, विद्यार्थी र अपाङ्ग व्यक्तिहरुको लागि स्टल मुल्यमा ५० प्रतिशत छुट उपलब्ध गराइएको तथा घरेलु, स्टार्ट अप र फरक क्षमताका व्यवसायी, उद्यमीको उत्पादन, उद्यम र मेहनतलाई प्रवद्र्धन र व्यवसायीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ छुटको अफर ल्याइएको आयोजकले बताएको छ ।
एक्पोमा धरान उपमहानगरपालिका, एक नं. प्रदेश सरकार, मितेरी डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स, टुबोर्ग, हुन्डाई, निक, त्रिवेणी ग्रुप, लक्ष्मी र यति कार्पेटले प्रायोजन गरेका छन् । एक सय १३ स्टल रहने एक्स्पोमा हरेक दिन स्थानीय र राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने र फागुन ११ देखि २० गतेसम्म आयोजना हुने प्रदर्शनीमा १० करोड बढीको कारोबार हुने अनुमान आयोजकको रहेको छ ।
प्रतिक्रिया