इलाम जेठ / अमेरिकाको एक विश्व विद्यालयका विद्यार्थी नेपालको एक समुदायमा खानेपानी आयोजना निर्माणमा जुटेका छन् ।
इलाम माइजोगमाई गाउँपालिका ४ को नामसालिङ्ग हात्तिटारमा खानेपानी आयोजना निर्माणका लागि अमेरिकाको कोलोराडो विश्वविद्यालयका विद्यार्थी जुटेका हुन् ।
निर्माण कार्यमा समेत आफैँ सहभागी भएर विद्यार्थीहरूले हात्तिटार रमिते वनपाला खानेपानी योजना निर्माण गरिरहेका हुन् । खानेपानी आयोजनाबाट स्थानीय हात्तिटारमा सुख्खा क्षेत्रमा रहेका २४ घरधुरी लाभान्वित हुने भएका छन् ।
उनीहरूले यहाँ केही वर्ष अघि देखी नै काम गरिरहेका हुन् । खानेपानी आयोजनाको माइजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे र उपाध्यक्ष प्रविना राई लगायतले अनुगमन समेत गरेका छन् ।
अनुगमन पछि अध्यक्ष थेबेले समाजमा सामाजिक उत्तरदायित्व बहन गर्ने काम विकृत हुँदै गएको अवस्थामा विदेशीहरूले खानेपानी आयोजनामा उदाहरण प्रस्तुत गरेको बताए ।
उपाध्यक्ष राईले गाउँपालिकामा श्रोत अभाव लगायतका विभिन्न समस्या भइरहेको अवस्थामा एनसीडिसी मार्फत योजना सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् ।
अमेरिकाको कोलोराडो विश्वविद्यालयको इञ्जिनियर्स विथआउट बोडर्स (ewb) ले खानेपानी आयोजना विगत पाँच वर्ष अगाडिबाट सुरु गरेको हो ।
उक्त संस्थाले लगानी गरेर सुरु गरेको आयोजनामा स्थानीय गैर सरकारी संस्था नामसालिङ्ग सामुदायिक विकास केन्द्रले समन्वय गरिरहेको छ ।
इडब्लुबीका मेन्टर र चार जना विद्यार्थी खानेपानी आयोजना निर्माणमा खटेका छन् ।
मेन्टर लीजा क्यामेलीले हात्तिटारको समुदायका मानिसहरू उत्साहित भएर आयोजना निर्माणमा सक्रिय भएको र आफूहरूले पनि दिगो आयोजना निर्माणलाई प्राथमिकता दिइरहेको जानकारी दिइन् ।
नामसालिङ्ग सामुदायिक विकास केन्द्र एनसीडीसी इलामका टिम लिडर हिराकाजी घलेले आयोजना मार्फत २४ घरधुरी एक संस्था र एक विद्यालय लाभान्वित हुने जानकारी दिए ।
आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको स्थानीय उपभोक्ता अम्मर देवानको भनाई छ ।
उनले आयोजनाको सम्झौता गर्दा नै पाँच वर्षको लागि गरिएको र बिचमा कोरोना महामारीका कारण निर्माणमा केही ढिलाइ भएको भन्दै अब सहज रूपमा काम भइरहेको उनको भनाई छ ।
खानेपानी आयोजना निर्माण भएपछि उक्त क्षेत्रमा वर्षौँ देखि स्वच्छ पिउने पानी टाढाबाट बोक्नुपर्ने बाध्यता हट्दै गएको बताइएको छ । इडब्लुबी एनसीडीसी र समुदायको करिब ३५ लाख लगानीमा खानेपानी आयोजना निर्माण भएको हो ।
यहाँ समुदायका बासिन्दाले समेत उत्तिकै सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया