इलाम / इलामको चुलाचुली गाउँपालिकामा कार्यरत शिक्षकहरूलाई राजनैतिक गतिविधिमा पूर्ण प्रतिबन्ध गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले शिक्षालाई राजनैतिक कार्यक्रममा जान प्रतिबन्ध गरेको हो ।
शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ)को उपदफा ५ (छ) बमोजिम कारबाही गरिने बताइएको छ ।
शिक्षकहरू आ–आफ्ना पेसागत संघसंगठनमा आबद्ध भए तापनि कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको पालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
शिक्षक कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध हुने र खुला राजनीति गर्ने क्रम बढेपछि स्थानीय स्तरबाटै राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउने सो निर्णय गरिएको बताइएको छ ।
कुनै शिक्षकले निर्णयको उल्लङ्घन गरेको पाइएमा शिक्षा ऐनबमोजिम कारबाही गरिने गाउँपालिका अध्यक्षको भनाई छ ।
गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम आयोजना गर्न नपाइने गरी प्रतिबन्ध लगाएको छ ।
शैक्षिक संस्थामा राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको बताइएको छ ।
गाउँपालिका भित्र आठ वटा माध्यमिक विद्यालय, १३ आधारभूत विद्यालय, दुई सामुदायिक सिकाइ केन्द्र र १६ वटा बाल विकास केन्द्र छन् ।
त्यहाँ पाँच हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया