ताप्लेजुङ / आठराई त्रिवेणी गाउँपालिकाले ९० प्रतिशत भन्दा माथि विद्यालयमा हाजिर हुने विद्यार्थी तथा विद्यार्थीका अभिभावकलाई सम्मान गर्ने भएको छ ।
विद्यालयमा विद्यार्थीको हाजिरी बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न सो कार्यक्रम ल्याइएको हो ।
विद्यालयमा विद्यार्थीको उपस्थिति भए मात्र उनीहरूको शिक्षा प्रतिको मोह बढ्ने भएकाले यस्तो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले जानकारी दिए ।
पालिकाले १३ बुँदे शिक्षा घोषणा पत्र जारी समेत गरेको छ ।
जसमा विद्यालयमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, वाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरू ९५ प्रतिशत भन्दा माथि हाजिर भई पठनपाठनमा संलग्न भएको अवस्थामा शिक्षक दिवसको दिन प्रोत्साहन गरिने उल्लेख छ ।
जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले विद्यालयमा कुनै पनि दलगत राजनीति प्रवेश गर्न नदिने प्रतिबद्धता जनाउँदै घोषणा पत्रको समर्थन समेत गरेका छन् ।
गाउँ शिक्षा ऐन, नियमावली, कार्यविधि र निर्देशिकाहरू समयानुकूल परिमार्जन गर्दै लगिने घोषणा समेत गाउँपालिकाले गरेको छ ।
घोषणा पत्रमा प्रधानाध्यापकको छनौट प्रचलित कानुन, ऐन तथा नियमावली बमोजिम गरिने, शैक्षिक गुणस्तर वृद्धिका लागि योग्य, विषयगत र प्रविधिमा दक्खल राख्ने शिक्षकको छनौट गरिने उल्लेख छ ।
प्रतिक्रिया