विराटनगर । मोरङकको उर्लाबारीमा टिपरको ठक्करबाट सोमबार साँझ महिलाको मृत्यु भएपछि आक्रोसित बनेको भीडले प्रहरी कार्यालयमा ढुंगामुडा गरेको छ ।
तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा महिलाको मृत्यु भएको थियो । त्यसलगत्तै आक्रोसित बनेको भीडले नाराबाजी र प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा ढुंगामुडा गर्न थालेको हो । जसका कारण साँझदेखि उर्लाबारीको मुख्य चोक तनावग्रस्त बनेको छ ।
घटनापछि स्थानीय आक्रोसित बनेका थिए । आक्रोसित भीडले पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन ठप्प बनाएको छ । यातायात अवरुद्ध पारेर नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाहरुले उर्लाबारी चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै प्रहरी कार्यालयमा ढुंगामुडा गरिरहेका हुन् ।
उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी नगरपालिका–६ सिलौलीमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६ः५० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको बताए ।
दुर्घटनामा परेर स्कुटर चालक उर्लाबारी–६ की अन्दाजी २७ वर्षीया सीता बोहोराको मृत्यु छ । डीएसपी बस्नेतका अनुसार गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा साँझ ७ः३० बजेतिर मृत्यु भएको हो । घरबाट शब्जी लिनलाई निस्किएका बेला उनलाई टिपरले ठक्कर दिएको बताइएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन् । सुरुमा उपचारका लागि अरनिको अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको न्युरो अस्पतालतर्फ ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते बालकको अवस्था मध्यम छ ।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको छ । चालकको लापरबाही र टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डीएसपी बस्नेतले दुर्घटनापछि मृतकका आफन्त र स्थानीयले उर्लाबारीमा प्रदर्शन गरिरहेको बताए । उनका अनुसार २÷३ सयको संख्यामा रहेकाहरुले सडकमा टायर बालेर नाराबाजी र प्रदर्शन गर्दै प्रहरी कार्यालयलाई लक्षित गरी ढुंगामुडा गरिरहेका हुन् । टिपर आतंक बन्द हुनुपर्ने, दुर्घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेर स्थानीय आन्दोलित भएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी बस्नेतले बताए । प्रदर्शनस्थलमा पुगेको प्रहरीले आन्दोलित बनेकालाई सम्झाई बुझाई गरिरहेको छ । तर, आक्रोसित बनेको भीडले थप उत्तेजित भएर प्रदर्शनलाई उग्र बनाउँदै लगेको छ । सम्झाई बुझाई गर्दा पनि माहोल शान्त नभएमा बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रहरीको तयारी छ ।
माहोल भड्काउन भूमिका खेल्नेहरुलाई निगरानीमा राखिएको र थप क्षति हुन नदिन सुरक्षाकर्मीले संयमता अपनाइरहेको डीएसपी बस्नेतले बताए । प्रहरीका स्रोतका अनुसार सम्झाई बुझाई गर्दा पनि माहोल शान्त नभए बल प्रयोग गरेर भएपनि स्थितिलाई नियन्त्रणमा लिइने छ । कुनै पनि क्षति हुन नदिन आवश्यकता अनुसार बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया