विराटनगर । समाजमा बढ्दै गएको लागूऔषधको अवैध धन्दा नियन्त्रण गर्न प्रहरी आक्रामक बनेर लागेको छ ।
लागूऔषधको दुव्र्यसनले समाज ध्वस्त बन्दै गइरहेको निष्कर्ष निकालेर प्रहरी कडा रूपमा प्रस्तुत भइरहेको हो । तर, प्रहरीको एक्लो प्रयासले मात्रै दुव्र्यसन नियन्त्रण सम्भव भइरहेको छैन । कोशी प्रदेशमा पछिल्लो समय लागूऔषधको दुव्र्यसन न्यूनीकरण र नियन्त्रणका लागि प्रहरीले आमाहरुको साथ खोजिरहेको छ ।
लागूऔषधमुक्त तथा दुव्र्यसनरहित समाज निर्माणको पवित्र उद्देश्य राखेर प्रहरीले सरोकारवालासँगको समन्वयमा समुदायलाई लक्षित गर्दै कोशी प्रदेशमा ‘दुव्र्यसनीविरुद्ध आमाहरु’ अभियान चलाएको हो । पहिलो चरणमा प्रहरीको यो अभियान नेपाल–भारत सीमा नाका लक्षित छ । अभियानले लागूऔषध प्रयोगकर्ताहरु निरुत्साहित भएर दुव्र्यसनमुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा प्रहरीको छ । स्थानीय सरकारसमेतको सक्रियतामा २०८० चैत १४ गतेबाट सुरु गरिएको अभियानमार्फत लागूऔषधको दुव्र्यसनविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको हो ।
विराटनगर महानगरपालिका–१६ रानीमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा गत आइतबार दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको थियो । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले लागूऔषधको दुव्र्यसनलाई निरुत्साहित गरी स्वास्थ्य र सुखी परिवार तथा समुन्नत समाज निर्माण गर्न प्रदेशमा ‘दुव्र्यसनीविरुद्ध आमाहरु’ अभियान सञ्चालन गरिएको जानकारी दिए ।
दुव्र्यसन न्यूनीकरणका लागि अभियानमार्फत आमाहरुको साथ खोजिएको उनले स्पष्ट पारे । बालबालिकाहरुसँग सबैभन्दा बढी समय बिताउने हुँदा उनीहरुको बानी र व्यवहारमा आएको परिवर्तन आमाहरुले सहजै बुझ्ने तथा महसुस गर्ने भएकाले आमा समूहलाई अगुवा बनाएर अभियान तीव्र पारिएको खापुङले बताए । उनका अनुसार व्यक्तिगत तथा पारिवारिक समस्या, कलह, असफलता, अपहेलना र साथीभाइको लहैलहै एवं गलत संगतमा लागेर युवाहरु लागूऔषधको कुलतमा फस्ने गरेका छन् । यसतर्फ आमाहरु जागरुक र सजग हुनुपर्ने उनको धारणा छ ।
आमाहरु जिम्मेवार भएमा दुव्र्यसन न्यूनीकरणमा मद्धत पुग्ने डीआईजी खापुङ बताउँछन् । परिवारका हरेक सदस्यको समस्या बुझेर बेलैमा समाधान गर्नतर्फ लागेमा दुव्र्यसनमुक्त समाज निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ । ‘हामी समाज बिग्रियो भन्छौं । सबै जिम्मेवार भएर पहिला घरलाई सुधार गर्ने हो भने समाज र राष्ट्र नै दुव्र्यसनीमुक्त हुनेछ । पहिला घरबाटै सुरु हुनुपर्छ । घरपरिवार नै जिम्मेवार हुनुपर्छ,’ खापुङले भने ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुव्र्यसन न्यूनीकरणमा परिवारसँगै आमाहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनका अनुसार घरपरिवार सचेत भए परिवारका कोही पनि सदस्य दुव्र्यसनमा फस्दैनन् । आफ्ना छोराछोरी कता जाँदैछन्, के गर्दैछन् भनेर ख्याल राख्न जरुरी रहेको उनी बताउँछन् । परिवारका सदस्यसहित आमाहरुले घरमा छोराछोरीसँग गफ गर्ने, समस्या सुनिदिने, घुलमिल हुने र उनीहरुका कुरालाई सम्बोधनको प्रयास गर्ने गर्दा सन्तान गलत बाटोमा नलाग्ने कोइरालाले बताए ।
‘कोही व्यक्ति रहरले नभइ बाध्यता र विवशताका कारण दुव्र्यसनी बनेको पाइन्छ,’ उनले भने, ‘लागूऔषध नियन्त्रणका लागि महानगरपालिका सक्रिय बनेको छ ।’ कोइरालाले सीमावर्ती वडाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बजेटसमेत छुट्टाइएको उल्लेख गरे । मेयर कोइरालाले सीमावर्ती भारतीय बजारका औषधि पसललाई लागूऔषध बिक्री गर्न नदिन भारतीय पक्षसित समन्वय भइरहेको जानकारी दिए ।
लागूऔषध दुव्र्यसनी समाज सुधारको बाधकका रूपमा देखा परिरहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । ‘समाजलाई बिरामी र रोगी हुनबाट जोगाउन सबै लाग्नुपर्छ,’ भट्टराईले भने, ‘दुव्र्यसनीहरु कुलत छाडेर असल नागरिक, नेता, कर्मचारी, व्यापारी, उद्योगी, बन्न सक्छन् ।’
विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साहले सीमावर्ती क्षेत्रमा हुने लागूऔषधको ओसारपासर, बिक्रीवितरण र सेवनलाई न्यूनीकरण गर्न सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । प्रयोगकर्तालाई मात्रै लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दा अभियानले सार्थकता नपाउने उनको भनाइ छ । ‘लागूऔषधका प्रयोगकर्तासँगै बिक्रेता, ओसारपसारमा संलग्न व्यक्तिहरूसम्म अभियान पुग्नुपर्छ,’ साहले भने ।
कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालले समाजमा लागूऔषध दुव्र्यसनको अवस्था भयावह रहेको बताए । ‘दुव्र्यसनले परिवार र समाज ध्वस्त बनाउँदै छ,’ उनी भन्छन्, ‘बेलैमा सबै पक्षले ध्यान दिन सकेमा मात्रै नियन्त्रण गर्न सकिन्छ ।’ उनका अनुसार कोशी प्रदेशमा लागूऔषध सेवन गर्नेमध्ये ५३ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरू छन् ।
प्रदेशमा ४ हजार ५ सय महिलासहित ३४ हजार दुव्र्यसनी रहेको तथ्यांक उनले प्रस्तुत गरे । ‘दुव्र्यसनीविरुद्ध आमाहरू’ अभियानअन्तर्गत १ सय २४ स्थानमा समूह गठन गरेर अभियानलाई तीव्र पारिएको जानकारी दाहालले दिए ।
लागूऔषध सेवन गर्नेको संख्या हरेक वर्ष बढ्दै गइरहेको प्रहरीको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८०÷०८१ मा मोरङमा दर्ता भएका ३ सय २५ वटा लागूऔषधका मुद्दामध्ये २ सय ३४ वटा फछ्र्यौट भइसकेको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार लागूऔषध मुद्दामा २६ महिलासहित ४ सय ३० जना पक्राउ परेका छन् ।
उनले लागूऔषधमध्ये ५ सय ७८ ग्राम खैरो हिरोइन, २ हजार २ सय २५ किलो गाँजा, ३ हजार १ सय ८३ एप्पुल र ५ हजार ६८ ट्याब्लेट तथा ८१ दशमलव ४ सय ९० ग्राम चरेश बरामद भएको जानकारी दिए । ‘प्रहरीको एक्लो प्रयासले मात्रै लागूऔषध नियन्त्रण गर्न गाह्रो भएकाले सबैको सहकार्य र समन्वय आवश्यक छ,’ एसपी कार्की भन्छन्, ‘लागूऔषधको प्रयोगले व्यक्तिगत जीवन, परिवार र समाजलाई असर पुर्याउनुका साथै समाजमा अपराध पनि बढिरहेको छ ।’ उनका अनुसार लागूऔषधका नाममा धनसम्पत्ति पनि स्वाहा भइरहेको छ ।
प्रतिक्रिया