उनले आफ्नो छोरा पहिरोमा हराएपछि सान्त्वना दिनका लागि एञ्जल बसका प्रतिनिधि, स्थानीय नेता, सांसद तथा अन्य कोही पनि नआउँदा दुःख झनै बढेको बताए । ‘छोराले फर्निचर चलाउने भन्दै ५० लाखभन्दा धेरै कर्जा लिएको छ’, भनिन्, ‘छोरा नै नरहेपछि कर्जा कसरी तिर्ने भन्ने पीरले अर्काे चिन्ता थपिरहेको छ ।’ बुबाका अनुसार जवाहीर डेढ दशकदेखि सवारीसाधन चलाउँदै आएका थिए । जवाहीरले एञ्जल डिलक्स बस चलाउन थालेको पनि चार–पाँच वर्ष भइसकेको छ । उनले प्रायः रात्रिबस चलाउँदै आइरहेका थिए ।
जवाहीरका दुई छोरा र एक छोरी रहेकी छन् । जेठी छोरी प्रिती कक्षा आठमा अध्ययनरत छिन् भने जेठो छोरा कक्षा ४ र कान्छो छोरा बिटु युकेजीमा अध्ययनरत छन् । १३ वर्षीय छोरी प्रिती महतोले आफ्नो बुबाको जतिसक्दो छिटो उद्धार गरिदिन अनुनय गरिन् । ‘बुबालाई जतिसक्दो छिटो पानीबाट निकालिदिनूस् । अरू हामीलाई केही चाहिएको छैन’, उनले भनिन् ।
जवाहीरका कान्छो भाइ मुन्ना महतो अहिले हराइरहेका दाजुको खोजीमा नारायणगढ–चितवनमा खटिरहेका छन् । आज दिउँसोसम्म जवाहीरको अवस्था पत्ता लाग्न सकिरहेको छैन । हराइरहेका जवाहीरका दिदी सुशीलादेवी महतोले भाइ पहिरोमा हराएसँगै परिवारको खुसी खोसिएको बताइन् । भगवानका चार छोरा र एक छोरी रहेकी छन् । तीमध्ये पहिरोमा परेर हराइरहेका जवाहीर माइलो छोरा हुन् । जेठो सुनिल कतारमा र साइलो हिरालाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् भने कान्छो मुन्ना नेपालमा नै छन् ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चालकसहित १९ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार एञ्जल बसमा २७ जना यात्रु रहेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले एञ्जल बसमा सवारमध्ये अहिलेसम्म तीन जनाको शव भेटिएर परिवारका सदस्यले सनाखत गरेको बताए । उनले भने, ‘अहिले हामीले बेपत्ताहरुको खोजी कार्यलाई तीव्र पारिरहेका छौँ ।’
बेपत्ता खोज्न गण्डक ब्यारेजसम्म ३०१ सशस्त्र प्रहरी परिचालन
चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूलीमा बेपत्ता दुई बसका यात्रुको खोजीका लागि सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ । मंगलबार सशस्त्र प्रहरीले ३०१ जना सुरक्षा फौज घटनास्थलदेखि करीब १३२ किलोमिटरको दूरीमा रहेको गण्डक ब्यारेजसम्म परिचालन गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनास्थल सिमलताल वरिपरिका स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जना परिचालन गरिएको छ । सो फौजले २ वटा मोटर बोट र ७ वटा र्याफ्ट बोटसहित खोजी गरिरहेको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११५ जना परिचालन गरिएको छ । उनीहरु १५ वटा टोलीमा बाँडिएर घटनास्थल, देवघाट, शिवघाट, सिसवार र गोलघाटसम्म नदी किनारमा खोजी गरिरहेको डीएसपी थापाले बताए । सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरुमा पनि परिचालित छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको फौज गण्डक ब्यारेज ईलाकामा परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका–१० को ईलाकामा परिचालित भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज ईलाका, सुरक्षा बेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा ईलाका र सुरक्षा बेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा ईलाकामा परिचालित भएका छन् ।
प्रतिक्रिया