कोशीका पूर्व मुख्यमन्त्री कार्कीको नेतृत्वमा ‘जनावरमैत्री जंगलका लागि वृक्षारोपण’

सोमबार, ०७ साउन २०८१
इटहरी : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि जामुनबारी सामुदायिक वनबाट सुरू गरेको वृक्षारोपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायीक वनमा आइपुगेको छ । वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वेलबारी नगर कार्यसमिति, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति समेतको सहकार्यमा उक्त सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । कार्कीले असार २९ गतेदेखि ‘जसको जंगल, उसको मंगलका लागि जनावरमैत्री जंगल’ अभियान अन्तर्गत वृक्षारोपण सुरु गरेका थिए । अभियान अन्तरगत कोशी प्रदेशका जंगल क्षेत्रभित्र जंगल भित्रका जनावरका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्ने अभियान पूर्वमुख्यमन्त्री कार्कीले चलाउँदै छन् । हालसम्ममा मोरङ र झापाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पाँच हजार बढी विरुवा रोपिएको दाबी गरिएको छ । कार्कीले यो अभियानलाई आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जंगल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जंगल र जनावर र त्यस छेउका नागरिकहरूप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै जनावरका लागि जंगल निर्माणमा सबै नागरिकले कम्तीमा एउटा बिरुवा रोपेर अभिया सफल आग्रहसमेत गरेका छन् । कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहारा र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले नागरिकलाई दुःख दिने गरेको निष्कर्ष निकाल्दै आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम र बजेटमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । तर, कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैँले अभियान चलाएको बताएका छन् । उनले भने, ‘सरकारले जनताको बाँच्ने अधिकारका साथै जीविकोपार्जन पनि सुरक्षित गर्न र जंगली जनावरको अधिकारलाई पनि संरक्षण गर्ने हो । तर अहिलेको सरकार त्यसप्रति विमुख भएको अवस्था छ ।’ जंगलमा जनावरले खाने आहारा र जनावरको बास स्थानसमेत मासिएकाले हात्ती, बाँदरलगायतका जंगली जनावर वन क्षेत्रका गाउँबस्ती पसेर अन्नबाली, घर मास्नुका साथै मान्छेको समेत ज्यान लिने गरेको उनको भनाइ छ । त्यसैले जंगल क्षेत्रमा बसोबास गर्ने यश प्रदेशका ३६ प्रतिशत नागरिकको जनधनको सुरक्षाका लागि जनावरमैत्री जंगल हुनु अहिलेको अपरिहार्यता भएकाले वृक्षारोपण अभियान सञ्चालन गरेको पूर्वमुख्यमन्त्री कार्कीले बताए । ‘बस्ती छेउमा रहेको जंगलका प्रत्येक रूखमा माहुरीको घार राखेर माहुरी पालन अभियानसमेत सञ्चालन गर्नु जंगली जनावरबाट सुरक्षित रहन र अर्थाेपार्जनका लागि अपरिहार्य छ,’ उनले भने, ‘माहुरी पालनले सर्वसाधारणले खेतबारी विषादी प्रयोग गर्न रोक्ने र त्यसले अग्र्यानिक खेतीको सुरूवात हुन्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार