वरिष्ठ लोक गायक एलपी जोशीको निधन

शुक्रबार, ११ साउन २०८१
इटहरी : वरिष्ठ लोक गायक एलपी जोशीको निधन भएको छ । बिहीबार साँझ ८८ वर्षको उमेरमा वरिष्ठ गीतकार तथा गायक लक्ष्मीप्रसाद जोशी (एलपी)को निधन भएको हो । झापाको दमक नगरपालिका १ स्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गुरू पूर्णिमाको दिनदेखि उनको स्वास्थ्यमा समस्या आएको थियो । स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएपनि बिहीबार भने उनलाई घरमै ल्याइएको पारिवारिक स्रोतले जनाएको छ । जोशीकोे कन्काइ माइमा शुक्रबार ११ दाहसंस्कार जनाइएको छ । उनी छोरा मिलन र परिवारका अन्य सदस्यका साथ दमकमा बस्दै आएका थिए । को हुन् जोशी वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशीले आजीवन लोक संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका थिए । बाल्यकालदेखि नै गीतसंगीतमा चासो राख्ने जोशीले लोकगीत सम्राटको उपाधिसमेत पाइसकेका छन् । खासगरी उनको रिटिङ, रिटिङ, वल्लो खोलो, पल्लो खोलो, निगालो घारीमा च्याखुरा नाच्यो, खिपीमा खिपी बिनायो बाजा लगायतका गीतहरू बहुचर्चित छन् । २०१३ सालमा पहिलो गीत ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको रेकर्ड गराएका थिए । २०२० साल पहिल्यै उनका धेरैजसो गीतहरू रेकर्ड भइसकेका छन् । उनले २०५३ सालमा म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकालेका थिए । जोशी कुनैबेला रङ्गकर्मी, चित्रकार तथा नृत्य कोरियोग्राफरको भूमिकामा रहे । चलचित्र ‘हिजो आजभोलि’मा नेपालकी पहिलो नायिका भुवन चन्दसँगसमेत काम गरेका उनले जीवनभर ९ वटा चलचित्रमा समेत काम गरेका थिए । ७ जना दाजुभाइका छैटौं सन्तानका रूपमा रहेका जोशीका ५ दिदीबहिनी रहेका छन् । उनले यसअघि आफ्नी श्रीमती र एक छोरालाई गुमाइसकेका छन् । खासगरी दमकस्थित आफ्नै घर अगाडि सटरमा पसल राखेर उनी दिनभरजसो त्यही पसलमा हुन्थे । आफ्ना शुभचिन्तक र प्रशंसकहरूसँग कुराकानी गरेर दिन बिताउँथे । मृतक जोशीका भाइ नारायण जोशीका अनुसार एलपी सानै छदाँ फुटबल खेलमा समेत रूचि राख्थे । पछि लोक संस्कृतिको क्षेत्रमा नामी भएका उनले केही महिना पहिले मात्रै डाक्टरको मानार्थ पाएका थिए । ‘डेढ महिना पहिले भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो । गत महिना राष्ट्रपतिबाट सम्मानित हुनुभएको थियो । हामीले यति चाँडै गुमाउँछौँ भन्ने कल्पनासमेत थिएन ।’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार