काठमाण्डौं : प्रहरी प्रशासनबाट यातायात मजदुर व्यवसायीहरूले अनावश्यक हैरानी व्यहोर्नु परेको गुनासो गरेका छन् । शुक्रबार (आज) प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक (आइजिपी)समक्ष यातायात मजदुर तथा व्यवसायीहरूको प्रतिनिधिहरूले त्यस्तो गुनासो गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिहरूले आइजीपी बसन्त बहादुर कुँवरसमक्ष समस्याहरू राखेका हुन् ।
खासगरी धनगढीदेखि काठमाण्डौं आउने सार्वजनिक बसले सडकका ३६ स्थानमा सुरक्षा चेकजाँच पूरा गर्नुपर्दा झन्झट व्यहोर्दै आएको जनाइएको थियो ।
प्रहरी मेरो साथी लोकप्रिय नारा भएपनि ट्राफिक प्रहरीको बोली र व्यवहारमा रुखोपन रहेको र यातायात मजदुरलाई भौतिक आक्रमण गर्ने गरेको भन्दै कुँवरसमक्ष ध्यानाकर्षण गराइएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी किरण बज्राचार्य, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको छलफलमा ट्राफिक प्रहरीलाई राजश्व संकलन केन्द्रका रूपमा विकास गर्ने भन्दा एड्भान्स ट्राफिक व्यवस्थापनमा लैजाने गरी योजना निर्माण गर्न सुझाइएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विरुद्ध सञ्चालन अनुमति दिइएको निजी सवारीलाई राइडसेयरिङले यातायात क्षेत्रमा ठ्लो व्यथिति ल्याएको भन्दै यसलाई तत्काल रोक्न सुझाव दिइएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी र नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमसहितको प्रतिनिधि मण्डलले सार्वजनिक सवारीसाधनमा हुने पाकेटमारी नियन्त्रण, मानव बेचविखनको निगरानी र अन्य आपराधिक गतिनिधि नियन्त्रण, दुर्घटना न्युनीकरण अभियान लगायतका कार्यक्रमहरू सरोकारवाला सबैको संयुक्त प्रयासमा गरिनुपर्ने बताएका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले एउटै रुटमा नियमित सेवा दिने सवारीसाधनले समेत पटके काटेर हिँडिरहेको बताए ।
भेटमा आइजिपी कुँवरले सडकमा मजदुरलाई दुःख दिने, अनावश्यक हैरानी दिने र मजदुरहरूलाई आक्रमण गर्ने कार्य गलत भएको बताउँदै त्यस्ता घटनामा संलग्नहरूलाई प्रमाणका आधारमा कारबाही गरिने आश्वासन दिए ।
प्रहरीको काम शान्ति सुरक्षा दिने भएकाले सडकमा अनावश्यक झमेला र चालकको मनोविज्ञानमा असर पर्नेगरी अवरोध गरेको पाइए आँफूले नियमन गर्ने उनको भनाइ छ ।
त्यस्तै एआइजी किरण बज्राचार्यले यो बसाइले आँफूलाई सिक्ने अवसर मिलेको भन्दै छलफल निरन्तर गरिनुपर्ने बताए । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जीवन श्रेष्ठले आफू मातहतका खट्ने प्रहरीलाई व्यवहारका बारेमा सजग गराइरहेको जनाए ।
प्रतिक्रिया