धरानका सौगात, जो प्रहरीको गाडी दुर्घटनामा अस्ताए

शुक्रबार, ११ साउन २०८१
इटहरी : धरानका सौगात थापाको प्रहरी गाडी दुर्घटना हुँदा निधन भएको छ । विराटनगरमा प्रहरीको गाडी दुर्घटनामा परी घाइते भएका प्रहरी जवान धरान उपमहानगरपालिका १७ घर भएका २५ वर्षीय सौगात थापाको निधन भएको हो । गत साउन २ गते विराटनगरमा प्रहरीको गाडी दुर्घटना भएको थियो । मुस्लिम समुदायको मोहरम पर्वको कार्यक्रमको सुरक्षामा प्रहरी लिएर विराटनगरको रानीतर्फ जाँदै गरेको ना १ ग २५५९ नम्बरको प्रहरीको गाडी दुर्घटना हुँदा दुई दर्जन बढी प्रहरीहरू घाइते भएका थिए । जसमध्ये थापाको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुष्टि गरेको छ । विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटनामा परेको हो। उक्त गाडी विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको हो । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर थियो । अन्य सबै उपचारपछि घर फर्किइसकेको भएपनि थापाको अवस्था गम्भीर रहेकाले उपचाररत थिए । उनको बिहीबार निधन भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, डीआइजी चन्द्रकुवेर खापुङले दुःख व्यक्त गरेका छन् । डीआइजी खापुङद्धारा जारी श्रद्धाञ्जलीमा भनिएको छ, ‘कर्तव्य पालनको सिलसिलामा दुर्घटना परी घाइते भई उपचारको क्रममा भएको निधनले हामी मर्माहत भएका छौँ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार