मोरङ : पूर्व सांसदको माछा पोखरीमा कामदार मृत फेला

आइतबार, १३ साउन २०८१
विराटनगर : मोरङमा पूर्व सांसद (पूर्वप्रदेशसभा सदस्य)को पोखरीमा कामदार मृत फेला परेका छन् । बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा रहेको तबदार माछा फार्मको पोखरीमा आइतबार (आज)दिउँसो कामदारको शव भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार माछा फार्मको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीका ४० वर्षीय अर्जुन श्रेष्ठको शव फेला परेको हो । माछा पोखरीमा डुबिरहेको अवस्थामा श्रेष्ठलाई दिउँसो १२ः३० बजेतिर मृत फेला पारिएको जानकारी बस्नेतले दिए । स्थानीयले पोखरीमा डुबिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले पोखरीबाट शव निकालेर पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । प्रहरीका अनुसार उक्त माछा फार्म कोशी प्रदेशका पूर्वप्रदेशसभा सदस्य (पूर्व सांसद) चुमनारायण तबदारको हो । नेपाली कांग्रेसका नेतासमेत रहेका तबदारले माछा फार्म सञ्चालन गरेर पोखरी निर्माण गरी माछापालन गर्दै आएका थिए । प्रहरीका अनुसार मृत फेला परेका श्रेष्ठ माछा फार्मका कामदार हुन् । डीएसपी बस्नेतका अनुसार घटना कसरी भयो भनेर यकिन हुन बाँकी छ । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार