मोरङ : मोरङको पथरी शनिश्चरे नगर अस्पतालका छैटौँ तहका अधिकृत प्रेमलाल लिम्बु (प्रेम)ले आफ्नो घरमै ‘अवैध’ रूपमा औषधी पसल सञ्चालन गरेको पाइएको छ ।
पथरी शनिश्चरे ७ स्थित बकैना डाँडामा रहेको उनको घरमा दुई वटा ‘बेड’ राखेर ‘अवैध’ व्यवसाय सञ्चालन गरेपछि अनुगमन टोलीले सिलबन्दी गरेको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले जानकारी दिए ।
कार्यालयको समयमा लिम्बुको श्रीमतीले औषधी पसल हेर्ने गरेको पाइएको छ । जहाँ बिरामीहरूको चेकजाँच पनि हुने अनुगमनका टोलीले जनाएको छ ।
परियारका अनुसार अनुगमनका क्रममा सो औषधी पसलमा म्याद गुज्रिएको औषधी पनि फेला परेको थियो । सरकारी जागिर र निजी व्यवसायलाई एकैसाथ सञ्चालन गर्दै आएका उनले गम्भीर नियम उल्लङ्घन गरेको परियारले बताए ।
कारबाहीले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर र नैतिकतामा जोड दिएको छ । नगरपालिकाले यस्ता अवैध गतिविधिहरू विरुद्ध कडा कदम चाल्ने र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
लिम्बुकाअनुसार अन्य तीन वटा अवैध औषधी पसल पनि सिल गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी र औषधी व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले यस्ता पसलहरू सिलबन्दी गरेको हो ।
अनुगमनमा पथरी शनिश्चरे ९ को पुल चौकमा रहेको कुवेर भण्डारीको औषधी पसल, वडा नं. ६ को भातेगौँडा र वडा नं. ४ को सम्झना चौकमा रहेका हेमराज चन्द्रवंशीद्वारा सञ्चालित दुई औषधी पसलहरू पनि सिल गरिएको अनुगमन टोलीका संयोजक नगर उपप्रमुख देवीमाया काफ्लेले बताए ।
औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत परियारले पसलहरूसँग आवश्यक दर्ता प्रमाण–पत्र नभएको र म्याद सकिएका औषधीहरू बिक्री गरिरहेको पाइएकोले कारबाही गरिएको बताए ।
नगर उपप्रमुख देवीमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका ‘सिअहेव’ एकराज खत्री, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू र नगर प्रहरीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया