मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल

सोमबार, ०३ भदौ २०८१
काठमाडौं : मंकीपक्स संक्रमणको जोखिम नेपालमा पनि उच्च रहेकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै हाल अफ्रिकी मुलुकहरूमा तीव्र रूपमा फैलिरहेको मंकीपक्स संक्रमणको जोखिम नेपालमा पनि रहेकाले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न आग्रह गरेका छन्। यस्तै, संक्रमणको जोखिम बढ्दै गएकाले विज्ञहरूसँग छलफल गरी जोखिम कम गर्न विज्ञसँग सुझाव लिइसकेको र अन्तर्राष्टिय हवाई नाका तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेक्सलाई यस संक्रमणका शंकास्पद बिरामीहरूबारे निगरानी बढाउन निर्देशन दिइसकेको उनले बताए। यसका साथै  मंकीपक्स संक्रमणको जोखिम र अन्य जानकारीको लागि मन्त्रालयको ११५ नम्बर कल सेन्टरसमेत स्थापना गरिएको डा बुढाथोकीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त विज्ञप्तिमा भनिएको छ, 'नेपाल पनि यो रोगको जोखिममा नरहेको भन्न सकिँदैन। त्यसैले यस रोगको पूर्वतयारी स्वरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विषय विज्ञसँग सुझाव दिइसकेको छ,यस्तै यसको  जानकारीको लागि कल सेन्टर १११५ सञ्चालनमा रहेको छ यसका साथै हवाई तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेस्कहरू तथा सरुवा रोगहरुको निगरानी (सर्विलेन्स) गर्ने तीनै तहका निकायहरूलाई सतर्क गराइसकेको र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेको जानकारी गराउन चाहन्छौँ।' पछिल्लो समय कोभिड-१९ को महामारीको पछि मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ। यो वर्ष मात्रै अफ्रिकामा १४ हजारभन्दा बढी संक्रमितमध्ये ५०० जनाले ज्यानसमेत गुमाइसकेका छन्। नेपालमा गत वर्ष असारमा विदेशबाट नेपाल घुम्न आएकी एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको थियो। उक्त विदेशी महिला ज्वरोसहित मंकीपक्स जस्तै लक्षण देखिए पनि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन्। लक्षण सबै मिल्दोजुल्दो देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंकीपक्स पुष्टि भएको थियो। तर हालसम्म नेपाली नागरिकमा यो संक्रमण पुष्टि भएको छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार