नेपाल प्रहरी : ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

विहीबार, ०६ भदौ २०८१
काठमाडौं : नेपाल प्रहरीमा ३० वर्षे सेवा हद तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ट्राफिक प्रहरी महाशाखामा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ईश्वर श्रेष्ठसहित २१ जनाले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको अन्तरिम आदेशसँगै अवकाशको पत्र पाएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित २१ जनाको जागिर तत्कालका लागि जोगिएको छ । उनीहरू यस मुद्दाको अन्तिम फैसला नहुँदासम्म नेपाल प्रहरीको सेवामा रहनेछन् । त्यसबाहेक ३० वर्षे सेवा अवधिका आधारमा केही समयभित्रै अवकाशमा जान लागेकाहरू पनि सेवामा कायम रहनेछन् । अन्तरिम आदेशमा रिटकर्ताहरूलाई जस्तै अन्य व्यक्तिको हकमा त्यस्तो पत्राचार नगर्न भनिएको छ । नेपाल प्रहरीमा जनपथ समूहतर्फ र सशस्त्र प्रहरीमा ठूलो संख्याका उच्च अधिकृतहरू अवकाशमा जान लागेका थिए । २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेकाहरू भदौ १५ बाट अवकाशमा जान लागेका थिए । अवकाश हुन लागेका अधिकांश अधिकृतहरू ५० वर्ष हाराहारीका छन् । कम उमेरमा अवकाशमा पठाउन लागिएको भन्दै उनीहरूले ३० वर्षे सेवा अवधि रिट दायर भएको मितिबाटै लागु नहुने आदेश गर्न माग गरेका थिए । यो पनि – नेपाल प्रहरी : एसएसपीसहितका प्रहरी अधिकृतहरू सर्वोच्चमा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार