धरान एक्स्पोमा ‘पर्यटन गोष्ठी’ हुने

बुधबार, १७ फागुन २०७९
धरान । धरान एक्स्पो २०७९ मा आज (बुधबार) पर्यटन गोष्ठी आयोजना हुँदैछ । सुनसरीको व्यवसायीक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवद्र्धनका लागि सञ्चालन भइरहेको एक्स्पोमा आयोजना हुने गोष्ठी प्रदेश १ को पर्यटन विकास र प्रवद्र्धनमा केन्द्रीत हुनेछ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु हुने गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद् र सरोकारवालाको उपस्थिती रहनेछ । एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार गोष्ठीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन बोर्ड सदस्य कृष्ण शाह, पर्यटनविद् वासुदेव शाह, धरान उपमहानगरपालिकाका प्रतिनिधि र पर्यटन उद्यमीको सहभागिता रहनेछ । ‘पर्यटन क्षेत्रमा भएका समस्या, त्यसका समाधान र प्रवद्र्धनमा गोष्ठी केन्द्रीत रहन्छ’ बरालले भने, ‘त्यसबाहेक नयाँ पर्यटकीय स्टलको पहिचान र त्यसको प्रचारका विषयमा पनि अन्तरक्रिया हुनेछ ।’ सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा यसअघि ‘स्वरोजगार तालिम’ सम्पन्न भइसकेको छ । एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार फागनु २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा अन्य विषयमा समेत गोष्ठी, कार्यशाला र तालिम सञ्चालन हुनेछ । एक्स्पो अवधिभित्रै धरानको खानेपानी समस्या समाधानको विषयमा समेत अन्तक्रिया कार्यक्रम हुने उनले बताए । फागुन ११ गतेबाट धरान रङ्गशालामा जारी एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय २३ स्टल प्रदर्शनीमा राखिएका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार