विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न भएको १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताबाट नेपाल २ स्वर्ण र १ रजत पदक प्राप्त गर्न सफल भएको छ ।
नेपालका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त गरेका हुन् । राजमन्दिर र किशोरवरुण काभ्रेपलाञ्चोक तथा चन्द्रबहादुर झापाका हुन् ।
एकल प्याटनमा पाँचौं डानतर्फको प्रतिस्पर्धामा मंगोलियाका खेलाडीलाई पराजित गरेर राजमन्दिरले स्वर्ण पदक हात पारे । ९१ किलो तौलमाथिको प्रतिस्पर्धामा किशोरवरुणले भारतका खेलाडीलाई हराएर स्वर्ण जितेका छन् ।
चन्द्रबहादुरले ६३ देखि ७० किलो तौल समूहमा प्रतिस्पर्धा गरेर रजत जितेका हुन् । उनले ताजिकिस्तानका खेलाडीलाई पराजित गरेर रजत हात पारेका थिए । यही भदौ ४ देखि ९ गतेसम्म भएको प्रतियोगितामा नेपालबाट खेलाडी, अम्पायर र अफिसियल गरेर १५ जना सहभागी भएका थिए । जसमा ७ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गरे ।
प्रतिस्पर्धामा उत्रिएकामध्ये बाग्लुङकी सुस्मिता थापा, बाग्लुङकै सुन्दर ऐडी, काभ्रेपलाञ्चोकका रिक्सन वाईबा र सशस्त्र प्रहरी बल (एपीएफ)की खेलाडी लीलाकुमारी चौधरी पदकविहीन बनेर घर फर्किएका छन् । प्रतियोगितामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की र महासंघका महासचिव घमबहादुर थापामगरले निर्णायकको जिम्मेवारीसमेत पाएका थिए ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कार्कीले प्रतियोगितामा एसियाका २४ वटा मुलुकको सहभागिता रहेको जानकारी दिए । उक्त प्रतियोगितामा ५ सय ४१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
आईटीएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक नेपालले २ वटा स्वर्ण प्राप्त गरेको कार्कीको भनाइ छ । यसअघि सातौं एसियाली प्रतियोगितामा १ वटा स्वर्ण मात्रै प्राप्त भएको उनले बताए ।
अन्तर्राष्ट्रिय प्रतियोगिताबाट २ वटा स्वर्ण र १ रजत प्राप्त हुनु नेपालका लागि ठूलो उपलब्धि र सफलता भएको उनको भनाइ छ । ‘नेपालले स्वर्ण जित्नु गौरवको विषय हो,’ कार्कीले भने, ‘पदक विजेता खेलाडीलाई सम्मान गरेर सरकारले हौसला प्रदान गर्नुपर्छ ।’ सरकारको सहयोगबाट मात्रै खेलकुदको प्रवर्धनमा सहयोग पुग्ने कार्की बताउँछन् ।
प्रतिक्रिया