गरे हुनेरहेछ नि ! बिहानैदेखि रातिसम्म सेवा प्रवाह

विहीबार, १८ फागुन २०७९
इलाम । सरकारी कार्यालयमा सामान्यतया बिहान १० बजेदेखि ५ बजेसम्म सेवा प्रवाह हुन्छ । निजी कम्पनीहरुले ब्यवसाय सञ्चालनका लागि चौबीसै घण्टा सेवा दिने गरेका छन् । सरकारी कार्यालय (स्वास्थ्य संस्थाबाहेक) मा यस्तो कमै पाइन्छ । जिल्ला प्रशासन कार्यालय इलाम भने यसभन्दा फरक देखिएको छ । बिहान ७ देखि राति ९ बजेसम्म सेवा प्रवाह भइरहेको छ । यसले गर्दा सेवाग्राहीलाई काम गराउन पर्याप्त समय मिल्ने गरेको छ । कामका लागि आएका सेवाग्राही यत्तिकै नर्फिउन् भनेर अतिरिक्त समयमा सेवा प्रवाह गरिएको कार्यालयको भनाइ छ । इलाममा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीले सेवा प्रवाह अवधिसँगै कार्यालयमा परिवर्तन ल्याएका छन् । राहदानी बनाउन अनलाइन फाराम भर्दा लाग्ने ५ सयदेखि ५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता हटेको छ । अब कामका लागि बिचौलियाको भर पर्नुपर्ने बाध्यता पनि हटेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले कार्यालयमा निःशुल्क फाराम भर्ने व्यवस्था सुरु गरेपछि धेरैलाई राहत मिलेको छ । केही अघिसम्म ई–पासपोर्टका लागि अनलाइन फाराम भर्न निकै समस्या थियो । साइबर सेन्टरमा पुगेर फाराम भर्नुपथ्यो । एउटै फारम भरेको ५ सयदेखि ५ हजारसम्म तिर्नुपथ्र्यो । बिचौलियाले कहिले इन्टरनेट नचलेको त कहिले सिस्टमले काम नगरेको भन्दै महिनौंसम्म झुलाउँथे । तर अहिले यी सबै काम निःशुल्क रुपमा जिल्ला प्रशासन कार्यालयमै हुन थालेको छ । सहजरुपमा समयमै काम हुन थालेपछि सेवाग्राही खुसी भएका छन् । देउमाई नगरपालिका २ का टेकप्रसाद पौडेलले दुई महिनाअघि साइबर सेन्टरमा फारम भर्न रकम र कागजात छोडेका थिए । तर काम भएको थिएन । भर्खरै उनले कार्यालयमा आएर एकै दिनमा फारम भरेर राहदानी निर्माणको प्रक्रिया पूरा गरेका छन् । उनीजस्तै युवराज आचार्यले पनि पहिला नै फारम भर्न प्रक्रिया अघि बढाएका थिए । उनको पनि बिभिन्न कारणले काम हुन पाएको थिएन । पछिल्लो समय काम सहज रुपमा भइरहेको उनले बताए । प्रशासन कार्यालयले दैनिक डेढ सयभन्दा बढीको फाराम भर्दै आएको छ । राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता बनाउनेले गर्दा कार्यालयमा निकै भीड बढेको छ । अनलाइन फारमलाई सहज बनाउन कर्मचारीले १२ घण्टासम्म काम गर्दै आएका छन् । हाललाई दुई सिफ्टमा कर्मचारी ब्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । जिल्लाका १० वटा स्थानीय तहबाट सर्वसाधारण राहादानी लगायतका सेवा लिन प्रशासनमा आइपुग्छन् । सेवाग्राहीलाई एकै दिनमा सेवा दिने गरी प्रशासनले स्थानीय तहसँग पनि समन्वय गरेको कार्यालयका सूचना अधिकारी यादव राउतले जानकारी दिए । उनले राहदानी वितरणलाई सहज बनाउन स्थानिय तहले पनि प्रशासनलाई कर्मचारी उपलब्ध गराएको बताए । कर्मचारीहरु बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सिफ्टमा काम गर्छन् । गुनासोरहित सेवालाई प्रभावकारी बनाउन नयाँ अभ्यास थालिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । आएका सेवाग्राहीले काम सकेर मात्र फर्किनु पर्ने अवस्था छ । जिल्ला प्रशासनले दिने सेवामा सुधारका संकेत देखिएसँंगै नागरिकमा सरकारी सेवाप्रतिको विश्वास बढेको छ । भद्रगोल रहेका सरकारी कार्यालयले सक्षम नेतृत्व पाएमा परिवर्तन सम्भव छ भन्ने सन्देश जिल्ला प्रशासन कार्यालय इलामले दिएको छ । हाल ९ बजेसम्म काम गरिरहे पनि केही दिनमा सेवाग्राहीको संख्या घट्ने र सेवा प्रवाह सामान्य रुपमा नै फर्किने अपेक्षा लिइएको छ । तर सेवाग्राहीको चाप बढिरहे निरन्तर सेवा प्रवाह गरिने बताइएको छ । देशमा संघीयता आएपछि निकै सहज हुन्छ भन्ने विश्वास लिएका नागरिकले सबै कार्यालयबाट त्यसको अनुभूति गर्न पाएका छैनन् । ‘गाउँगाउँमा सिंहदरबार’ भनेर नेताहरुले भाषण गर्ने गरे पनिसेवा पाउने निकायबाट अझै पनि कतिठाउँबाट सहजरुपमा सेवा लिन नपाएको गुनासो व्याप्त छ । इलाम प्रशासन भने अरुभन्दा बेग्लै रुपमा प्रस्तुत भइरहेको छ । सबै सरकारी निकायहरुले सुधारका काम गरे नागरिकले सहज सेवा पाउनुका साथै सरकारी कार्यालयप्रति विश्वास र भरोसा बढ्ने निश्चित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार