रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार सुसेलीलाई

विहीबार, १८ फागुन २०७९
इलाम । यस वर्षको रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार इलामका अग्रज पत्रकार सोम सुसेलीलाई दिइने भएको छ । प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा स्थापना गरिएको ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७९’ पत्रकार सुसेलीलाई दिइने भएको हो । दुलाल परिवारसँगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले २० हजार राशिको पुरस्कार स्थापना गरेको हो । पुरस्कार नेपाल प्रेस युनियनको बिहिवार बसेको बैठकले सुसेलीलाई दिने निर्णय गरेको प्रेस युनियन इलामकी अध्यक्ष सविता पाण्डेले बताइन् । उनका अनुसार पुरस्कार आउने चैत्र महिनामा वितरण गरिने छ । तीन दशकदेखि पत्रकारितामा क्रियाशील सुसेली इलामबाट सञ्चालन भइरहेको रेडियो नेपालवाणी एफएमको स्टेसन मेनेजर छन् । उनकै नेतृत्वमा इलामबाट इलाम एक्प्रेस दैनिक समेत सञ्चालन भइरहेको छ । यस घि उनी गोरखापत्र दैनिक, न्युज २४ लगायतका सञ्चार माध्यममा कार्यरत थिए । इलाम जिल्लामा प्रजातान्त्रिक विचारधारा स्थापित गराउन क्रियाशील रहेर दुलाल समाजसेवामा समेत कहलिएका व्यक्ति मानिन्छन् । समाजसेवामा अग्रसर रहेका दुलाललाई ‘जिल्ला बा’ को उपनामले समेत चिनिने गरेको छ । समाज विकासमा दुलालले पु¥याएको योगदानलाई जीवन्त राख्नको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य तथा उनका नाति माधवप्रसाद चम्लागाईंले बताए । हाल पुरस्कार राशीका रुपमा वितरण हुँदै आएको सो पुरस्कारलाई दुलाल परिवारले आगामी वर्षदेखि प्रतिष्ठान निर्माण गरेर वितरण गर्ने भएको छ । इलाममा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील अग्रज पत्रकारलाई सो पुरस्कार प्रदान गरिने प्रेस युनियन इलामका सचिव टीका खतिवडाले बताए । यसअघि यस पुरस्कारबाट २०६८ सालमा विजयशेखर भट्टराई पुरस्कृत भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार