सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

बुधबार, १९ भदौ २०८१
काठमाडौँ : सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । बुधवार अस्पतालमा यस सम्बन्धमा दुवै अस्पतालबिच सम्झौता भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा.शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यसअघि यस्तो सेवाका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल तथा कोशी प्रदेश अस्पतालसँग सम्झौता भइसकेको छ ।  यससँगै ३ प्रादेशिक अस्पतालमा सेवा सुरु भएको हो । मधेस प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सात वटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो । त्यस लगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए । यस लगत्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा आरम्भ गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार