आन्दोलनमा लुटिएका हतियार खोज्न प्रहरीको ‘स्वीप अपरेसन’ सञ्चालन

सोमबार, १० कार्तिक २०८२

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार खोज्न काठमाडौं उपत्यका प्रहरीले ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ ।

आइतबारदेखि सुरू गरिएको उक्त अपरेसनमा जेन-जी आन्दोलनका लुटिएका हातहतियार खोजिने उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बताए ।

“यो सुरक्षाजन्य संवेदनशील गतिविधि, लुटिएका हातहतियार सामग्री र व्यक्तिहरू फेला पार्ने उद्देश्यले सञ्चालन गरिएको संयुक्त वा योजनाबद्ध अपरेसन हो,” एआईजी कार्कीले भने ।

यो अपरेसन अन्तर्गत आइतबार प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा खानतलासी गरेको थियो ।

काठमाडौं महानगरपालिका–३२ सुबिधानगरस्थित सम्पदा बोइज होस्टेल ब्लक ‘बी’ र महानगरपालिका–३१ प्रयागमार्गस्थित ब्लक ‘ए’ मा प्रहरीले स्वीप अपरेसन चलायो ।

उक्त अपरेसनका क्रममा ब्लक ‘ए’ को कम्पाउन्डभित्र रहेको स्टोरमा लुकाइएका सामग्री फेला परेको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीमा दुई थान हतकडी, एपीएफ बडी प्रोटेक्टर विथ स्टिक एक थान, प्रहरी लौरो एक थान र एउटा हार्ड डिस्क बरामद भएको एआईजी कार्कीले बताए ।

ती सामग्री लुटेको आरोपमा धनुषा जनकपुर उपमहानगरपालिका–७ घर भई हाल प्रयागमार्गस्थित ‘ए’ होस्टेलका वार्डन २४ वर्षीय गोविन्दकुमार ठाकुर पक्राउ परेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार