झापामा पूजाको प्रसाद खाएका ७३ जना बिरामी

विहीबार, २७ भदौ २०८१
झापा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या बढेको छ । हालसम्म बिरामीको सङ्ख्या ७३ जना पुगेको नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्काले जनाएका छन् । बुधवार अर्जुनधारा–९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो । सो पूजामा प्रसाद खाने उनीहरू बिरामी परेका हुन् । स्थानीय खरबन्दी गाउँमा प्रसाद खाएका सबै जना बिरामी भएको अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ जानकारी दिए । बिरामी भएकामध्ये ६६ जनाको शनिश्चरे आधारभूत अस्पताल, बीएण्डसी अस्पतालमा चार जना र मनमोहन अस्पतालमा तीन जनाको उपचार भइरहेको खड्काले बताए । उनले बुधवार उपचार गराएर गएका पनि फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको बताए । पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ । सुरुमा वाक वाक लाग्ने, वान्त हुने तथा लगातार डार्एरीया हुने समस्याले सताएपछि प्रसाद खाएका बिरामीहरू अस्पतालमा भर्ना भएका हुन् । केही बिरामीहरूमा ज्वरो १०४ डिग्रीसम्म देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । शनिश्चरे आधारभूत अस्पतालमा बेड अभावमा बार्दली, प्यासेज लगायतका स्थानमा राखेर बिरामीको उपचार भइरहेको जनाइएको छ । अस्पतालले सम्पूर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिए । उनीहरूमा फुड पोइजन भएको डाक्टरहरूले अनुमान गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार