चिया निर्यात ५२ प्रतिशतले बढ्यो

शनिबार, ०५ असोज २०८१
इलाम : नेपालबाट चिया निर्यात ५२ प्रतिशतले वृद्धि भएको छ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो। गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो। तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ। चालु आव २०८१/८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ। गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो। गत आवमा सो अवधिमा ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो। गत आव २०८०/ ८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशतले घटेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार