घटनास्थल पुगेर फर्कनुभएका धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे भन्नुहुन्छ, “माथिल्लो सडकको डिलबाट नै पहिरो झरेको देखिन्छ र ढुङ्गा गुडिरहेकै सवारीमाथि पहिरो खसेको अनुमान लगाउन सकिन्छ । किनकी पहिरोमा पुरिएका सवारीबाट कोही पनि निस्किएर बाँचेको भेटिएन ।”
ढुङ्गामुढासहित डाँडै भासिएर खसेको लेदो तल्लो सडकमा करिब १० फिटभन्दा बढी उचाइमा थुप्रियो । पहिरोले सवारी पुरिएको पत्ता लगाउनै मुस्किल पर्यो । ढुङ्गामुढा र लेदोसहितको पहिरोले लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर भ्यान)लाई सडकमै पुरेको र ना ४ ख २२७० नम्बरको बस र बा २ ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस)लाई सडकबाट तल खसालेर पुरेको अवस्थाबाट निकालिएको उद्धारमा संलग्न धुनिबेसी नगरपालिका–९ का वडा सदस्य विक्रम जंग रानाले बताउनुभयो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनास्थलभन्दा अगाडि काठमाडौँतर्फ बिहीबार बेलुका सानो पहिरो झ¥यो । त्यही पहिरोले गर्दा गाडी जाम लाग्यो । अहिले दुर्घटना भएको स्थान अरुभन्दा फराकिलो ठाउँ भएकोले धेरै सवारी त्यहीँ रोकिराखिएका थिए ।
जहाँ धेरै सवारी रोकिएको थियो । त्यही ठाउँमा सडक माथिबाट गेग्रानसहितको लेदो खसेको सडक छेउमा पसल गर्दै आउनुभएकी कमला ढकालले सुनाउनुभयो । सवारीको जाम लागिरहेकै देखेर सुतेको र बिहान करिब ०४ बजे ब्यूँझिदा पहिरोले गाडी पुरिएको देखेको उहाँको भनाइ छ ।
त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोबाट सोमबार साँझसम्म ३५ जनाको शव निकालिएको छ । जसमध्ये पुरुष २५, महिला नौ र एक बालक छन् ।चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बसका १३, गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसका आठ र बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसका १४ यात्रु रहेको प्रहरीले जनाएको छ ।
तर सबैको सनाखत नसकिएकोले कुन सवारीमा को थिए भन्ने प्रहरीले यकिन गर्न सकिएको छैन । सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टमपछि सनाखत गरेर उनीहरूको शव आफन्तलाई बुझाउने तयारी छ ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्काभेटर प्रयोग गरेर सोमबार पुनःउद्धार जारी राख्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
पहिरोले सवारी पुरिएको स्थान काठमाडौँको कलङ्कीबाट १५ किलोमिटर दुरीमा पर्छ । यो क्षेत्रमा विसं २०५५ र २०५९ मा समेत पहिरो गएर धनजनको क्षति भएको थियो ।
प्रतिक्रिया