कोशीमा चाडपर्वलक्षित के छ प्रहरीको योजना ? बढाइयो सुरक्षा सतर्कता

मंगलबार, २२ असोज २०८१
विराटनगर : कोशी प्रदेशमा दसैं, तिहार, छठलगायतका ठूला चाडपर्वलाई लक्षित गरेर सुरक्षा सतर्कता बढाइएको छ । ठाउँठाउँमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । हतियारसहित र सादा पोसाकका सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था मजवुत बनाइएको हो । चाडपर्वलाई मर्यादित, व्यवस्थित, सुरक्षित र हर्षोल्लासपूर्ण बनाउनेतर्फ सुरक्षा निकायको ध्यान केन्द्रित भएको छ । हिमाली, पहाडीदेखि तराईका गरेर कोशी प्रदेशमा १४ वटा जिल्ला पर्छन् । भारतसँग खुला सीमा रहेका झापा, मोरङ र सुनसरी सुरक्षाका दृष्टिकोणले अलि बढी संवदेनशील मानिन्छन् । प्रदेशको राजधानी विराटनगरसहित इटहरी, धरान, इनरुवा, दमक, बिर्तामोड, भद्रपुर, काँकडभिट्टालगायतका दर्जनौं ठाउँ मानवीय चहलपहल, भिडभाड तथा आर्थिक गतिविधि धेरै हुने स्थानभित्र पर्छन् । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले चाडपर्वको रौनक सुरु हुँदै गर्दा उच्च सुरक्षा सतर्कता अपनाइएको बताए । उनका अनुसार चाडपर्वलाई अपराधरहित बनाउने सुरक्षा योजना छ । मजवुत सुरक्षाका लागि राष्ट्रिय अनुसन्धानलगायतका निकायसँग पनि समन्वय भइरहेको जोशीको भनाइ छ । उनले चाडपर्वमा भिडभाड हुने ठाउँ, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना, मठमन्दिर, धार्मिकस्थल, वित्तीय संस्था, सुनचाँदी पसल र सार्वजनिकस्थलको सुरक्षा कडा पारिएको बताए । चाडपर्वमा बिदा हुने कार्यालयको विशेष सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । जोशीले मानवीय चहलपहल धेरै हुने स्थानमा प्रहरीको विशेष टोली परिचालन गरेर निगरानी बढाइएको छ । अपराधिक पृष्ठभूमिका र शंकास्पद व्यक्तिहरुमाथि प्रहरीले ‘वाच’ गरिरहेको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारेर लागू गरिएको बताउँछन् । ‘चाडपर्वमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप धेरै हुन्छ । यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष संचालन गरिएको छ,’ कार्कीले भने, ‘उश्रृङ्खल गतिविधि गर्ने, मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने लगायतमाथि कडाइ गरिएको छ । सार्वजनिक सवारीसाधन चेकजाँच तीव्र पारिएको छ ।’ चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच बढाइएको जानकारी उनले दिए । सम्भावित घटना एवं अपराधका बारेमा समुदायलाई सचेत गराउने काम भइरहेको एसपी कार्की बताउँछन् । उनका अनुसार एटीएम बुथ, पसलहरु, बैंक, वित्तिय संस्था, व्यापारिक प्रतिष्ठान एवं आर्थिक गतिविधी धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठानहरु र सरकारी तथा गैर सरकारी कार्यालयमा २४ घण्टा नै निगरानी गर्न थालिएको छ । चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावित स्थानमा प्रहरी उपस्थित बाक्लो बनाइएको कार्कीले बताए । ‘होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘सुरक्षा व्यवस्था मजवुत बनाउन अपुग प्रहरी माथिल्लो कार्यालयबाट मगाइएको छ ।’ चार्डपर्वमा सुरक्षाको उचित प्रबन्ध मिलाउन सम्भावित र विगतमा भएका घटना एवं अपराधिक गतिविधिलाई मध्यनजर गर्दै प्रदेशभरि त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एवं एसएसपी भीमबहादुर दाहाल बताउँछन् । चोरी, लुटपाटजस्ता अपराध एवं मदिरा सेवनका कारण हुनसक्ने झैझगडालगायत विभिन्न अपराध नियन्त्रणका लागि सादा पोसाक तथा हतियारसहितका प्रहरी परिचालन गरिएको उनको भनाइ छ । ‘कोशीमा चाडपर्वलाई लक्षित गरेर फरक हिसाबले सुरक्षाको प्रबन्ध गरिएको छ । सबै ठाउँको सुरक्षा समस्या एउटै खालको हुँदैन । ठाउँ अनुसार फरक पर्छ,’ उनी भन्छन्, ‘त्यही भएकाले प्रहरीका स्थानीय युनिटहरुलाई आआफ्ना ठाउँमा रहेका चुनौतीको विश्लेषण गरेर छुट्टै सुरक्षा योजना बनाउन लगाइयो । त्यसलाई अध्ययन गर्दै परिस्कृत गरेर प्रदेश सुरक्षा योजना तयार पारी लागू गरिएको छ । ठाउँ अनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ ।’ चाडपर्वलाई केन्द्रित गरेर प्रहरीसँग भएका सम्पूर्ण जनशक्ति तथा स्रोत साधनको परिचालन गरिएको एसएसपी दाहाल बताउँछन् । भन्छन्, ‘विकृतिजन्य घटनादेखि सबै ठाउँको निगरानी गर्न प्रहरीको अलगअलग समूह बनाएर परिचालन गरिएको छ । राजमार्गको सुरक्षा व्यवस्था अलग्गै हिसाबले मिलाइएको छ । दुर्घटना कम गर्न विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै सवारीसाधनमा संयुक्त चेकजाँच तीव्र पारिएको छ ।’ कुनै समस्या आएमा र ठूला घटना भएमा तत्काल पुग्ने गरी प्रहरी तयारी अवस्थामा राखिएको उनले बताए । चाडपर्वलाई अपराधरहित बनाउन विशेष अभियान चलाएर आमनागरिकलाई सचेत गराइएको दाहालले बताए । ‘केही भइहालेमा तत्काल प्रहरीलाई खबर गर्न आह्वान गरिएको छ । मजवुत सुरक्षाका लागि सबै निकायसँग समन्वयमा काम भइरहेको छ,’ उनले भने । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले सुरक्षाका हिसाबबाट संवेदनशील मानिएका क्षेत्रदेखि सबै ठाउँमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको बताए । उनका अनुसार भिडभाडमा हुनसक्ने चोरी, डकैती, लुटपाटसहित चन्दा आंतक, ठगीजस्ता क्रियाकलाप र मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रणलगायतमा पनि प्रहरीले ध्यान दिइरहेको छ । यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण प्रहरीको प्राथमिकतामा छन् । त्यस्तै, जुवा, तासलगायत गैह्रकानुनी खेलहरु, मापसे गरेर होहल्ला एवं झैझगडा गर्नेहरु र शान्ति भड्काउन खोज्नेहरुलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने खापुङले बताए । शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधिको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रण थालिएको प्रहरीले जनाएको छ । प्रहरीले चाडपर्वका बेला विभिन्न घटनाबाट बच्न सरोकारवाला निकायलाई सजग गराउँदै सबैलाई सर्तकता अपनाउन आग्रह गरेको छ । सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ । महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने अपराधको रोकथाम तथा नियन्त्रणका लागि प्रहरी चनाखो रहेको डीआईजी खापुङले बताए । उनका अनुसार अत्यावश्यक सेवाका साधनहरु एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको छ । कुनै पनि घटनामा परेर घाइते भएकाको उपचारका लागि सबै अस्पताललाई २४ घण्टानै तयारी अवस्थामा राख्न स्थानीय प्रशासनसँग समन्वय भइसकेको उनले बताए । सीसी क्यामेरामार्फत निगरानी बढाउँदै अपराध नियन्त्रणमा प्राविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिएको जानकारी खापुङले दिए । भारतसँग सीमा जोडिएका स्थानदेखि मानवीय चहलपहल धेरै हुने ठाउँमा तालिमप्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच भइरहेको उनले बताए । सीमा नाकाबाट आवतजावत गर्ने शंकित व्यक्ति तथा सवारीसाधनमाथि कडाइसाथ चेकजाँच भइरहेको जानकारी खापुङले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार