दसैँमा के छ कांग्रेस नेताहरूको योजना ? भन्छन् – ‘विपत्तिका कारण मनमा दसैँ छैन’

शुक्रबार, २५ असोज २०८१
इटहरी : यसपटकको दसैँ असोज २६ गते छ । दसैँको अवसरमा कोही घुम्न रुचाउँछन्, कोही पारिवारिक भेटघाट गर्न । कोही भने सिनेमा हेर्न त कोही साथीभाइसँग रमाइरहेका हुन्छन् । यसैबीच नेताहरू के गर्छन् ? यो जिज्ञासालाई केही हदसम्म चिर्नका निम्ति हामीले यो सामाग्री प्रस्तुत गरेका छौँ ।  यस सामाग्रीमा सुनसरी जिल्लाबाट केन्द्रीय स्तरमा सहजै पहुँच राख्न सक्ने चार नेतालाई प्रतिनिधिमूलक पात्रका रूपमा प्रस्तुत गरिएको छ । मीन विश्वकर्मा मीन विश्वकर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभागका प्रमुख छन् । उनी यसअघि उद्योग, वाणिज्य मन्त्रीसमेत भइसकेका छन् । सुनसरीको क्षेत्र नं. १ अर्थात् धरान घर भएका उनी यसपटक ललितपुरस्थितमै दसैँ मनाउने तयारीमा छन् । प्राकृतिक विपत्तिका कारण यसपटकको दसैँ उत्साहजनक नभएको उनले सुनाए । ‘विपत्तिका कारण दुःखमा रहेकाहरूलाई पार्टीका साथीहरू राहत र पुनःस्थापनामा काम गरिरहनुभएको छ । उहाँहरूलाई नै सहयोग गरिरहेको छु,’ नेता विश्वकर्माले भने, ‘विपद्मा कसरी सहकार्य गर्न सकिन्छ भनेर जुटिरहेका कारण पनि यसपटकको दसैँमा उत्साह भएन ।’ उनले धरान आउने बाटो जोखिम भएका कारण यसपटक ललितपुरमै साधारण हिसाबबाट दसैँ मनाउने र तिहारमा भने धरान आउने जनाए । ‘म ललितपुर बस्छु, बाढीका कारण ललितपुरमा धेरै क्षति भयो । स्थानीय तहमै साथीहरूसँग सहयोगमा जुटिरहेको छु । त्यसकारण पनि मनमा दसैँ छैन । सुनसरीमा आफन्त छन्, जाऔँ भन्दा बाटोको सम्भावना ज्यादै कम छ,’ उनले भने । उनले आम नागरिकलाई पनि चाडपर्वको नाममा जबरजस्ती यात्रा नगर्न सुझाए । दसैँ भ्याउनैपर्छ भनेर जानेहरू बाटोमा थप समस्यामा परिरहेका उदाहरण दिदैँ उनले पहिले आफू बाँचेमात्रै परिवार र समाज बाँच्नेसमेत उदृत गरे । ‘आफू र परिवार बाँचेमात्रै चाडपर्व उत्साह हुनेरहेछ,’ उनी भन्छन्, ‘बरू अर्कोपटक दसैँ मनाउँदा केही बिग्रिदैँन ।’ उनले अहिलेको भन्दा बाल्यकालकै बेलाको दसैँ स्मरणीय हुने सुनाए । एक बालकको भन्दा वयश्क भएपछि पारिवारिक र सामाजिक जिम्मेवारी बढ्ने उनको भनाइ छ । ‘बाल्यकालको समयमा इच्छा, आकांक्षा र रहरहरूले भरिपूर्ण चाड हुन्छ, त्यो नै चाड रहेछ जस्तो लाग्छ,’ विश्वकर्मा भन्छन्, ‘ठूलो भएपछि जिम्मेवारी र दायित्व बढ्छ । त्यसपछि नाफा नोक्सान, ऋण, धनको हिसाब हुन्छ । आफ्ना र अरू टाढिदाँ रहेछन् र उत्साह कम हुँदोरहेछ ।’ उनले रहर र इच्छा घट्दा चाड पनि औपचारिकतामै सीमित हुने र चाड पनि जिम्मेवारी नै रहेको तर्क गरे । बाल्यकाल हुँदा रहर हुने र असीमित खुशी, आशा छाउने भएपनि अहिले भने जिम्मेवारीका कारण आफ्नो लागि भन्दा पनि अरूहरूका लागि दसैँ मनाउनुपर्ने हुनसक्ने उनको बुझाई छ । ‘म रमाउँछु भनेको बेला एक्लो रहर हुन्छ । तर, पारिवारिक दायित्व भएपछि र सामाजिक जीवन पनि भएका कारण, समाजले के भन्छ कि भन्ने पनि हुँदारहेछ,’ उनले थपे, ‘म काम गर्छु भन्नु र काम गनुपर्नेछ भन्ने फरकजस्तै हुँदोरहेछ बाल्यकाल र जिम्मेवारीले थिचेपछिको दसैँ ।’ राजीव कोइराला राजीव कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । उनी यसअघि पार्टीको सुनसरी जिल्ला सभापतिको जिम्मेवारीमा रहँदा तत्कालीन प्रदेश नं. १ को सांसदसमेत थिए । कोशी प्रदेशका प्रभावशाली नेता रहेका उनी सुनसरीको इनरुवास्थित घरमै दसैँ मनाउने योजनामा छन् । यसपटक विपत्तिका कारण देश नै शोकमा रहेका कारण दसैँको समयमा त्यस्तो ठूलो योजना केही नरहेको उनी बताउँछन् । ‘यसपटकको दसैँमा हर्ष, उल्लास छैन । सामान्य हिसाबमै घरमै दसैँ मनाउने हो, उत्तेजक हुने अवस्था छैन,’ कोइराला भन्छन्, ‘सरकारले विपत्तिलगत्तै प्रभावकारी हिसाबमा काम गर्न सकेको भए धेरै मानिसले ज्यान जोगाउँथे । सरकारको काम प्रभावकारी नहुँदा धेरै मानिसले काठमाडौँ बाहिर (घर) गएर दसैँ मनाउन पाएनन् ।’ उनले सरकार र गृह प्रशासन विपत्तिको बेला निद्रामा रहेकोजस्तो टिप्पणी गरे । ‘दुःखलाई मध्येनजर गर्दै यसपटक साधारण तरिकाबाट दसैँ मनाउनुपर्छ,’ उनले भने, ‘समय परिस्थिति अनुसार चाडपर्व मनाउनुपर्छ ।’ बाल्यकाल र अहिलेको दसैँमा त्यति फरक नलाग्ने उनले सुनाए । ‘सबैले पहिलेको दसैँ राम्रो भन्छन् । केटाकेटीमा पनि घाम हुन्थ्यो, गर्मी किन हुन्थेन ?,’ उनी भन्छन्, ‘ठूलो भएपछि त्यही घाम किन गर्मी भयो ?’ उनले अहिले पनि टीका लगाउने, मन्दिर धाउने र पिङ हाल्ने क्रम रहेकै कारण दसैँ उस्तै रहेको तर्क राखे । भने, ‘केटाकेटीमा पनि राम्रो, नराम्रो सबै थियो । त्यसबेला इच्छा सीमित भयो, अहिले पनि मजा चैँ छैन भन्ने होइन ।’ राजीव ढुंगाना राजीव ढुंगाना नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा पार्टीको विद्यार्थी विभाग प्रमुख रहेका ढुंगानाको स्थायी बसोबास इटहरी हो । उनी यसपटक इटहरीमै साधारण किसिमबाट दसैँ मनाउने तयारीमा छन् । ढुंगानाले २० वर्षयता दसैँमा एकदिन मात्रै टीका लगाउँदै आएका छन् । विजयादशमीको दिनमात्रै टीका लगाउँदै आएका ढुंगाना भन्छन्, ‘अरूबेला सञ्चोविसञ्चो पनि नसोध्ने, अनि दसैँमा नाता लगाएर जाने चलन गर्नुहुँदैन भन्ने लाग्छ ।’ उनले घरमा आफूभन्दा ठूला मानिससँग आशीर्वाद लिने र पारिवारिक समयमै दसैँ मनाउने सुनाए । अहिलेको भन्दा बाल्यकालको दसैँ स्मरणीय रहने उनी स्मरण गर्छन ् । ‘बाल्यकालमा धेरै रमाइलो हुन्थ्यो । दसैँसँग अरूकुरा जोडिएर आउँथ्यो । दसैँमा नयाँ लुगा लगाउन पाइन्छ भन्ने पनि थियो,’ उनले भने, ‘त्यसबेला अहिलेको जस्तो ब्रोइलर कुखुरा पनि हुन्थेन । मासु खान मन लागेको बेला हाटबजार कुर्नुपथ्र्यो । अनि दसैँ भनेपछि घरमै खसी काट्ने र खाने भन्ने चलनले पनि त्यसबेला विशेष लाग्थ्यो ।’ उनले बाल्यकालको समयमा टीकासँगै दक्षिणा पनि आउने हुनाले रौनक हुने भएपनि अहिले त्यो उत्साह नरहेको सुनाए । ‘अहिले सांस्कृतिक पर्वमा लगाव चैँ छ, मानिसमा उत्साह चैँ छैनजस्तो लाग्छ,’ उनी भन्छन्, ‘देशले राष्ट्रिय विपत्ति सामना गर्नुपरेको छ ।’ ढुंगानाले अहिले विपत्तिको सामना गरिरहेकाहरूलाई आम मानिसले हर तवरबाट सहयोग गर्नुपर्ने दायित्व रहेको बताए । ‘सामाजिक परम्परा, रीतिरिवाज भएका कारण रौनक लिएर आउने चाड दसैँ भएकाले ऋणपान गरेर खाऔँ भन्ने पनि हुन्छ । तर, अहिले विपत्तिका कारण धेरैको मन रोइरहेको छ । यसबेला सबैले एकअर्कालाई सहयोग गर्नुपर्ने बेला छ,’ उनले थपे । लक्ष्मी खतिवडा लक्ष्मी खतिवडा कांग्रेसको केन्द्रीय सदस्य छिन् । धरान ६ पानमारा घर भएकी उनी दसैँ मनाउन आउने तयारीमा छिन् । ‘आमा ८७ वर्षको हुनुहुन्छ, आमाको हातको टीका लगाउन जसरी पनि आइपुग्नैपर्छ,’ उनी भन्छिन्, ‘त्यसपछि टीकाको भोलिपल्टबाट म तीर्थयात्रा जाँदैछु ।’ उनी यसपटक भारतको दिल्ली हुँदै बनारस, अयोध्यादेखि वृन्दावनसम्म पुग्ने तयारीमा रहेको सुनाइन् । ‘तीर्थयात्रा जानुअघि साथीभाइसँग भेटघाट गर्छु । यसबेला देश असामान्य परिस्थितिमा भएका कारण त्यस्तो ठूलो उत्साह भने छैन,’ उनले भनिन्, ‘आम मानिसका सपना भताभुङ्ग भएको छ, जनधनको क्षति भएको छ । त्यसकारण कसैले पनि भड्किलो ढंगले दसैँ नमनाऔँ ।’ अफ्ट्यारोमा परेका मानिसलाई सहयोग गर्दा आम मानिसमा सकारात्मक सोचको विकास हुने र बाँच्नका निम्ति प्रेरित गर्ने उनले बताइन् । उनले बाल्यकालको समय र अहिलेको समयमा केही भिन्नता रहेको बताइन् । बाल्यकालमा जिम्मेवारी नहुने र डुल्ने, खाने, रमाउने उमेर थियो । खतिवडाले भनिन्, ‘त्यसबेला पिङ खेल्ने, पिङ रुङ्न जाने गर्दा छुट्टै रमाइलो हुन्थ्यो ।’ आफ्ना बुबा पूजाआजा गर्दा त्यसमै सरिक हुने र शक्तिपीठको दर्शनसमेत गरिने उनी सुनाउँछिन् । ‘हुनेखानेहरूले आ–आफ्नो घरमा खसी काट्थे । अलिक सामान्य परिवारमा भने तीन, चार घर मिलेर खसी काटेर दसैँ मनाइन्थ्यो,’ उनले विगत स्मरण गरिन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार