इटहरी : घरी बाटो हेर्छिन्, एकोहोरो । कहीँ जाँदा पनि एकोहोरिएर हेर्छिन्, पर–परसम्म । कोही नयाँ मानिस देख्दा पनि आफ्नै मान्छे हो कि झैँ लाग्छ । एक वयश्क उमेरमै घरबाट हिँडेका श्रीमान ४३ वर्षसम्म सम्पर्कमा नआएपछि इटहरी २ की चन्द्रकला गौतम (घिमिरे)ले यसरी एकोहोरिन थालेको चार दशक बितिसक्यो ।
२०२५ सालमा भोजपुरको सिस्नेरीका उत्तम गौतमसँग विवाह गरेकी चन्द्रकलाले वयश्क उमेरदेखि नै श्रीमानको साथ पाइनन् । २०३३ साल साउनदेखि घरबाटै हिँडेका उत्तम ०३९ सालमा केही समय आएपनि त्यसपछि हालसम्म फर्किएर आएनन् ।
‘साउनको महिना थियो, छोरीलाई गर्भमै छाडेर जानुभयो,’ उनले भनिन्, ‘त्यसको पाँच वर्षपछि ०३९ सालमा आउनुभयो । फेरि उहाँ (उत्तम)जान खोज्दा म पछ्याउन खोजेँ ।’
उनले विगत स्मरण गर्दै श्रीमानले दसैँमा आउने विश्वास दिलाए । ‘पछ्याएर जान्छौ भने म भागेर जान्छु र फेरि आउँदिन । यहीँ बस्छौ भने दसैँमा आउँछु भन्नुभएको थियो,’ त्यसबेलाको क्षण सम्झिदैँ उनले भनिन्, ‘त्यसपछि कहिल्यै फर्किएर आउनुभएन, उहाँको यादमा छटपटिएको बर्सौँ बित्यो ।’
उनले त्यसयता ४३ वर्षको दसैँसम्म आफ्ना श्रीमानलाई पर्खिएकी छन् । श्रीमान सधैँका लागि नआएपनि केही समयका लागि मात्रै आए हुने वा बाँचेको मात्रै थाहा पाउन पाएपनि सन्तोष हुने चन्द्रकला सुनाउँछिन् ।
एकमात्र रहेकी छोरीको पहिल्यै विवाह भएर हाल भारतको गुजरातमा बस्दै आएकी छन् । इटहरी २ शान्तिनगरस्थित सरस्वती टोलमा बस्दै आएकी चन्द्रकला एकल जीवन बाँच्नुपर्दा कयन पीडामा मात्रै होइन, स्थानीयको हेपाइमासमेत पर्ने गरेको सुनाउँछिन् ।
‘श्रीमान हुँदा मात्रै धेरै आँट आउँथ्यो,’ वृद्ध अवस्थामा पुगेकी उनको रोदनमिश्रित गुनासो छ, ‘घरमा एक्लै हुँदा छरछिमेकीले पनि हेप्दा रहेछन् । यसरी हेपिएर बाँचेकै कयन वर्ष भइसक्यो ।’
उनी भोजपुरबाट माओबादी द्धन्द्धकालको समयमा सुनसरीको तरहरा आइन् ।
आफूले अलिअलि मजदूरी गरेर कमाएको पैसा भाइ–बुहारीलाई दिएकी थिइन् । सोही पैसाबाट उनीहरूले एउटा जग्गा किनिदिएका थिए । तरहराको जग्गा बेचेर शान्तिनगरमा एउटा टहरो हालेर उनी बसोबास गर्दै आएकी छन् ।
‘उहाँ (श्रीमान)जहाँ भएपनि भेट्न पाए, टुंगो, पत्तो पाउन पाए हुन्थ्यो । उहाँको घर व्यवहार भएपनि आएर जाँदा हुन्थ्यो भन्ने लाग्छ । त्यसैले पनि आइहाल्नुहुन्छ कि जस्तो लागेर बाटो हेर्छु,’ उनले थपिन् ।
चन्द्रकलाले एकल जीवनमै छोरीलाई हुर्काएर पढाउनुपर्दाको सकस र जीवन एक्लै बाँच्नुपर्दाका अधिक पीडाहरू पोखिन् ।
‘घरमा कुटेकोदालो गर्नुपर्ने बाध्यता थियो । सबै आफैँले व्यहोर्नुपर्ने अवस्था हुँदा समस्या थियो,’ उनी भन्छिन्, ‘सबैका श्रीमानले मलाई यस्तो कुरा ल्याइदिनु भयो भन्थे, मेरो मन रुन्थ्यो । अहिले पनि रुन्छ । श्रीमानको कमाई खाने मेरो कर्म नै रहेनछ ।’
उनले त्यसबेला गाउँमा अरूहरूको घरबारीमा कोदो रोपेर जीवीकोपार्जन गरेकोसमेत सम्झिइन् ।
अहिले जंगलको निगुरो टिपेर जीवीकोपार्जन गर्दै आएकी उनले भनिन्, ‘०४६ सालमा ससुराको हात्ती आक्रमणमा परी मृत्यु भयो । उहाँ (उत्तम)एकै भाइ छोरा हो । कहाँ जानुभयो, के गर्नुभयो केही थाहा छैन । खोजी गरौँ, कहाँ गरौँ ? कहाँ जाऔँ ? एक्लो जीवनले के नै हुँदारहेछ र ?’
आफूले अक्षर नचिनेको र जानेबुझेका मानिस कोही आफ्नो पक्षमा नरहेका कारण पनि समस्यामा परेको उनको रोदन छ । श्रीमान उत्तम भारतको पञ्जाबतिर गएको र उतै बसेको हुनसक्ने उनको शंका छ ।
‘कहिलेकाही त आइहाल्नुहुन्छ कि जस्तो लाग्छ । आश अझै मरेको छैन । अब मेरो सारा कोही, केही नै छैन । घरमा बस्न पनि डर लाग्छ,’ चन्द्रकला भन्छिन्, ‘छिमेकतिर कसैको केही काम बिग्रियो भने मलाई दोष लगाउँछन्, सायद मेरो कोही नभएर होला !’
यसअघि वडा कार्यालयले एकल भत्ता दिलाइदिन्छु भनेपनि पोते फुकाल्न लगाएको र आफूले पोते नखोल्ने अडान लिएका कारण भत्ता नलिएको जनाइन् । थपिन्, ‘वडा कार्यालयमा पोते फुकालेर जा भनेपछि मैले पोते फुकाल्न मानिन । श्रीमानको धेरै मायाँ छ । तर, मानिसहरूले सहयोग पनि धन हुन्जेल मात्रै गर्दारहेछन् ।’
आफ्ना भनिएकाहरूले आफूलाई समस्या पर्दा सहयोग नगर्ने र धन, सम्पत्ति हुन्जेल मात्रै सहयोग गर्नेसमेत उदृत गरिन् ।
यसरी श्रीमानको छट्पटीमा चन्द्रकलाले ४३ वर्षदेखि हरेक दसैँमा बाटो हेर्दै आएकी छन् । कतै उत्तम फर्किएर आइहाल्छन् कि ! उनै वयश्क उमेर जस्तैगरी उल्लासपूर्वक आउँछन् कि ! उनको मनमा शंका छ । यदि, श्रीमान फर्किएर आए आफ्नो जीवनमा हरेक दिन उल्लास र उत्साह आउने उनको मनले बताइरहन्छ ...।
प्रतिक्रिया