शैय्या अभावमा अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गरिँदै

आइतबार, २७ असोज २०८१
तनहुँ : तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । अस्पतालको भुईँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शैय्याको अभाव भएको छ । पन्ध्र शैय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाइ भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । “बिरामीलाई भुईँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बिरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेङ्गुका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ”, उहाँले भन्नुभयो । अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाइ नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताउनुभयो । शैय्याको अभावले डायलिसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ । व्यास–१,२, ३, ४ र ५ मा डेङ्गुका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेङ्गुको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिनुभयो । दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्य नेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार