विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

आइतबार, ०४ कार्तिक २०८१
काठमाडौँ : सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय  सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी गराएका हुन्। त्यस्तै, विश्व बैंकवाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ। विपद्जन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनःनिर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदानस्वरुप प्राप्त हुने मालवस्तुमा भन्सार महसुल छुट दिने, नेपाल इन्टरमोडल यातयात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुनःनियुक्त गर्ने, २०८१ कात्तिक १८ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठवन्धनको सातौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ। यस्तै, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१२/३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरेको छ। समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार